चुनाव चिन्ह ‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले उक्त घोषणा गरेका हुन् । निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाब चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ ।

पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो ।

जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिन्ह पुनः प्राप्त गर्न पीटीआईको निवेदन मङ्गलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ ।

निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट बञ्चित गर्ने उद्देश्यले गरिएको बताए । उनले निर्वाचन आयोगको पछिल्लो आदेशको पछाडि षडयन्त्र भएको पनि आरोप लगाए ।

गोहरले भने, ‘अहिले राष्ट्रिय सभाका आरक्षित ७० सिट हामीसँग छन् ।’ पाकिस्तानमा आरक्षित सिटको कुल सङ्ख्या २२७ रहेको छ । विधानसभाहरूमा उनीहरूको दलको शक्ति बराबर राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलले सिटहरू प्राप्त गर्दछन् ।

जियो न्यूजका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र सिनेटका अध्यक्षका लागि हुने निर्वाचनमा आरक्षित सिटमा निर्वाचित सांसदको महत्वपूर्ण भूमिका हुन्छ ।

‘पाकिस्तानको निर्वाचन आयोगको आदेश विरोधाभासपूर्ण रहेको र दिगोखालको नभएको देखिन्छ,’ पत्रकारको प्रश्नमा गोहरले भने ।

उनले अदालतको उक्त आदेशलाई चुनौती दिँदै अदालत गएपछि पीटीआईले अपेक्षित राहत पाउनेमा आफू विश्वस्त रहेको बताए ।

पेशाले वकिल समेत रहेका गोहरले भने, ‘पीटीआईको चुनाव चिन्ह पुनः स्थापित गरिनेछ ।’ पीटीआई नेताहरू आफ्नो पार्टीले निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताए ।

गोहरले पीटीआईले संविधानको धारा १८४ अन्तर्गत ईसीपीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्ने बताए ।

‘इमरान खान पीटीआईका अध्यक्ष थिए, छन् र हुनेछन्’, उनले भने । उनले खानले सुम्पेको जिम्मेवारी मात्र पूरा गरिरहेको बताए ।

गोहरले पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खान जेलबाट बाहिर नआएसम्म आफ्नो वर्तमान भूमिकामा पार्टीको जिम्मेवारी निर्वाह गरिरहने बताएका छन् । गोहरले अन्यायपूर्ण निर्वाचनले देशमा अराजकता र अन्यौल निम्त्याउने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *