वीरगञ्ज। वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई वीरगन्ज नाकाबाट उद्धार गरेको हो।
एक वर्षको अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्।
हाल संस्थाको संरक्षणमा रहेकामध्ये ३८ जना मधेस प्रदेशका, ५८जना बागमती, ३३ जना कोशी, १३ जना लुम्बिनी, ३८ जना गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।
वीरगन्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायतका निकाय मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन्।
वीरगन्ज नाकामा प्रहरीले निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकाबाट पनि निगरानी बढाउनु पर्ने आवाज स्थानीयले उठाउँदै आएका छन्।