चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो । घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गरे ।
उनले घरबासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिए ।
फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकका लागि लक्ष्य गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
गाउँपालिकाको १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको १ लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको रु एक लाखको लागतमा भवन निर्माण गरिएको हो । साथै गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ ।
भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरेका हुन् । जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्ष्य गरी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गरिने गाउँपालिकाको योजना छ ।