शिविरमा नै असुरक्षित भएपछि जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य छन् रोहिङ्ग्या शरणार्थी

म्यानमारमा भएको निर्मम हिंसाबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीले छिमेकी देश बङ्गलादेशमा सुरक्षा पाउने आशा गरेका थिए, तर धेरैले भोकमरी, अपहरण र सामूहिक हिंसाबाट बच्न समुद्री जोखिमपूर्ण यात्रा गर्दै इन्डोनेशिया र मलेशियासम्मको यात्रा तय गर्ने गरेका छन् ।

दुई सन्तानकी आमाले दक्षिणपूर्वी बङ्गलादेशको एक अव्यवस्थित शिविरमा आफ्नो परिवारको पेट पाल्न सङ्घर्ष गर्नुपरेको कुरा गरिरहँदा नुर कायेसको आँखामा आँसु बग्छ ।

सन् २०१७ मा आफ्नो घरबाट भागेपछि शिविरमा बस्दै आएकी २७ वर्षीया उहाँले भन्नुभयो, ‘जब छिमेकीहरूले मेरा बच्चाहरूको अगाडि केही खान्छन्, उनीहरू रून थाल्छन् ।’

‘म आफ्ना छोराछोरीको आँसु थाम्न सक्दिनँ । हामीहरूसँग खानेकुरा छैन । म दिनरात रुँदै बिताउँछु,’उनले भने । बङ्गलादेशमा राज्यविहीन र मुख्यतया मुस्लिम अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायका करिब १० लाख सदस्य छन्, जसमध्ये धेरै छ वर्षअघि म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेका थिए ।

तर अहिले सयौँले इन्डोनेशिया र मलेशियाको जोखिमपूर्ण यात्रा गरिरहेका छन् किनकि दर्जनौँ बङ्गलादेशी शिविरहरू प्रतिद्वन्द्वी सशस्त्र समूहहरूको लागि युद्धभूमि बनेका छन् जसले बस्तीहरूलाई लागूपदार्थ र मानिसहरूको तस्करीको लागि सुरक्षित स्थलको रूपमा प्रयोग गर्छन् ।

प्रहरीका अनुसार शिविरको सुरक्षा व्यवस्था बिग्रिएको छ र यस वर्ष ६० भन्दा बढी शरणार्थी युद्ध र लागूपदार्थसँग सम्बन्धित झडपमा मारिएका छन् ।

यहाँका शिबिरहरूमा फिरौतीका लागि अपहरणका घटनापनि ह्वात्तै बढेका छन् । २७ वर्षीय रोहिंग्या युवा कार्यकर्ता सैफुल अराकानीले भने, ‘रोहिङ्ग्या शिविरमा बस्दा आत्तिएका छन् । उनीहरू डाँकुहरूको हातमा आफ्नो ज्यान गुमाउन चाहँदैनन् ।’ कायेसले आफ्नो छिमेकीको अपहरण भएको र आफू आफ्नो सुरक्षाको लागि डराएको बताए ।

‘अपहरणकारीहरूले उहाँलाई सुतिरहेको बेला लगेका थिए’, कायेसले भने, ‘बन्दुकधारीहरूले छिमेकीको परिवारलाई उनीहरूको जीवनबचत हस्तान्तरण गर्न र उहाँको रिहाईका लागि एक हजार ३५० अमेरिकी डलरभन्दा बढी फिरौती तिर्न रकम सापट लिन बाध्य पारेका थिए ।’ ‘उहाँको परिवारले पाँच दिनमा पैसा जम्मा गरेर फिर्ता ल्यायो,’ कायेसले भने, ‘मेरोे परिवारका सदस्य अपहरणमा परेमा मसँग फिरौती तिर्ने कुनै उपाय थिएन ।’

कायेसका पति फारुक रोहिङ्ग्यालाई शिविरबाहिर रोजगारीमा प्रतिबन्ध लगाउने बङ्गलादेशको आदेशको अवज्ञा गर्दै अवैध रूपमा डुङ्गा चालकको रूपमा काम गरेको आरोपमा जेलमा छन् । कायेसले आफूले जमानत प्राप्त गर्न मद्दत लिन वकिललाई भुक्तानी गर्न पनि सक्दैनन् ।

‘मसँग मेरो परिवारको लागि दुई छाक खाने व्यवस्था गर्ने सम्पत्ति त केही छैन भने सेवाका लागि मैले कहाँबाट चार/पाँच हजार टाका (३५–४५ अमेरिकी डलर) निकाल्न सक्छु ?’

कायेसले पहिलेदेखि नै एक धनी शरणार्थी परिवारका लागि काम गर्छन्, तर त्रिपाल र बाँसले बनेको आफ्नो आश्रयको लागि लिएको ऋण तिर्न संयुक्त राष्ट्रसङ्घको खाद्यान्न राशनको दुई तिहाई भाग लिनुपर्छ । शिविरभित्र सहायताको काम गर्ने केही बाहेक लगभग सबै शरणार्थीहरू आधिकारिक रूपमा बेरोजगार छन् ।

बङ्गलादेशको शरणार्थी आयोगका दुई जना अधिकारीले एएफपीलाई बताएअनुसार हजारौं रोहिङ्ग्या शरणार्थी शिविर छोडेर मछुवा, नुन किसान र निर्माण मजदुरको रूपमा काम खोज्न बाध्य भएका छन् ।

‘स्थानीय रोजगार बजारमा उनीहरूको प्रवेशले स्थानीय श्रमिकहरूको माग घटाएको छ’, नाम नबताउने शर्तमा एक अधिकारीले भने, “स्थानीय समुदाय आक्रोशित छन् । तर के तपाईं यसलाई रोक्न सक्नुहुन्छ?’ अराकानीले युवाहरूले ‘राम्रो र हिंसामुक्त जीवन’ चाहेको र इन्डोनेसिया र मलेसिया पुग्ने सपना देखेको बताए ।

उनले भने, ‘रोहिङ्ग्या युवाहरू शिविर छोडिरहेका छन् किनभने उनीहरू निराश छन् ।’ ‘तिनीहरूले जीवन जिउन कै लागि गरिने लामा र जोखिमयुक्त समुद्री मार्गमा आफ्नो मृत्य भएमा कुनै फरक नपर्ने तर भोक र गरिबीसँगै सधैँ जुधिरहन कठिन भएको बताउँछन्,’ अराकानीले बताए ।

नोभेम्बरदेखि इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त आचेहको यात्रामा वृद्धि भएको छ जुन लगभग एक हजार ८०० किलोमिटर (१,१२० माइल) को यात्रा हो ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले म्यान्मारमा सन् २०१७ को दमनपछिको सबैभन्दा ठूलो लहरमा हालैका केही महिनामा एक हजार ५०० भन्दा बढी आगमन भएको रिपोर्ट गरेको छ । शरणार्थी नेता मोहम्मद रहिमका अनुसार सयौं अविवाहित महिला र किशोरीहरू सम्पन्न पति पाउने आशामा ठूलो सङ्ख्यामा रोहिङ्ग्या समुदायको बसोबास रहेको मलेसिया जाने लाइनमा बसेका छन् ।

गत वर्ष आफ्नो एक मात्र छोरालाई मलेसिया पठाएका ५५ वर्षीय मोहम्मद इस्लामले भने, ‘जब उनीहरू जान्छन्, उनीहरूलाई आफ्नो जीवनको परवाह हुँदैन, उनीहरूलाई आफ्नो पेट पाल्ने चिन्ता हुन्छ ।’

‘तिनीहरूमध्ये कोही डुङ्गामा मर्छन् र कोही–कोही समातिए भने जेल जान्छन् ।’ तर मानव तस्करहरूले इन्डोनेसिया वा मलेसिया जाने जोखिमपूर्ण डुङ्गामा यात्रा गरेबापत ९०० देखि एक हजार ८०० अमेरिकी डलरसम्म लिने गरेका छन् । कायेसका लागि बङ्गलादेश छोडेर ‘राम्रो देश’ जानु सपना मात्र हो । ‘मसँग पर्याप्त पैसा भएको भए म पनि जान्थें,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *