देउवापछिको वरीयतामा खड्का कि कोइराला ?

काठमाडौं । मंसिर १६ गते कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भयो। पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका अधिकांश नेता सम्मेलनमा उपस्थित भए। तर, उपसभापति पूर्णबहादुर खड्का सम्मेलनमै गएनन्। बुधबार पार्टीको मधेस प्रदेश सम्मेलनमा फरक दृश्य देखियो। उपसभापति खड्का सम्मेलनमा देखिए, कोइराला गएनन्।

सत्तासीन कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवापछिको ‘दोस्रो वरीयतामा को हुने’ भन्ने विवाद चर्किंदै गएको छ। १४औं महाधिवेशनमा देउवासँग चुनाव लडेका डा. कोइराला वरीयतामा माथि कि महाधिवेशनबाट निर्वाचित उपसभापति खड्का भन्ने विवादले कांग्रेसमा रडाको मच्चिँदै गएको छ। वरीयता विवादकै कारण डा. कोइराला उपस्थित हुने कार्यक्रममा उपसभापति खड्का नजाने, खड्का उपस्थित हुने कार्यक्रममा कोइराला अनुपस्थित हुने क्रम चलेको छ।

१४औं महाधिवेशनमा निर्वाचित भएपछि पार्टीले उपसभापति खड्कालाई दोस्रो वरीयतामा राख्ने गरेको छ। तर, संस्थापन इतर पक्ष भने वरीयतामा कोइराला माथि हुनुपर्ने अडान राख्दै आएको छ। उपसभापति खड्काले पनि यस्ता कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने अडान लिने गरेको उनी निकट नेताहरू बताउँछन्।

लुम्बिनी प्रदेश समितिका लागि खड्कालाई औपचारिक पत्र नै पठाइए पनि वरीयताकै कारण खड्का अनुपस्थित भएको नेताहरू बताउँछन्। पार्टीको लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले खड्कालाई आफूले नै आमन्त्रणपत्र बुझाएको जानकारी दिए। प्रदेश सभापति अमरसिंह पुनका अनुसार निर्वाचित ‘मर्यादाक्रमअनुसार राख्ने भएमात्रै कार्यक्रममा आउँछु’ भन्ने जवाफ खड्काले दिएको बताए। केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीको विधानअनुसार सभापतिपछिको मर्यादाक्रममा उपसभापति हुने तर्क गर्छन्। ‘अहिलेका सभापति (शेरबहादुर देउवा)ले पनि विगतमा सभापतिको चुनाव हार्नु भएको थियो,’ खतिवडाले भने, ‘त्यसबेला उहाँले वरिष्ठ नेताको पद माग्नु भएको थियो र ? चुनावमा हारिसकेपछि वरीयता खोज्नु राम्रो होइन।’

कार्यकारी पार्टी सभापति बनिसकेका कारणमात्रै विगतमा रामचन्द्र पौडेललाई वरिष्ठ नेताको पद दिइएको खतिवडाको तर्क थियो। गण्डकी प्रदेश सम्मेलनमा भने शेखरलाई दोस्रो वरीयतामै राखिएको थियो। गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा कोइराला निकट हुन्। गएको सोमबार नुवाकोट कांग्रेसले जिल्ला सम्मेलन गर्दा सभापति देउवापछिको वरीयतामा कोइरालालाई राखेका थिए। देउवा प्रमुख अतिथि थिए।

बागमती प्रदेशसभामा खड्कालाई दोस्रो वरीयता 

कांग्रेसको बागमती प्रदेश समितिको पहिलो सम्मेलन शनिबार हुँदैछ। कार्यक्रममा देउवापछि उपसभापति खड्कालाई दोस्रो वरीयतामा राख्ने तयारी भइरहेको छ। बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले भने, ‘हाम्रो पार्टीमा अहिले वरिष्ठ नेता यो भनेर माइन्युट गरिएको छैन। त्यसैले माइन्युट नगरेको विषयमा टेन्सन नगरौं। पार्टीको वेभसाइटमा मर्यादाक्रम निर्धारण गरिएको छ। त्यही प्रक्रियाअनुसार अघि बढ्छौं।’

बागमती प्रदेश सम्मेलनमा कोइरालालाई कार्यक्रममै बोलाइएको छैन। कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘बागमती प्रदेश सम्मेलनको विषयमा कुनै जानकारी छैन। निमन्त्रणा छैन। हामी विराटनगरमा छौं,’ उनले भने। उपसभापति खड्का भने कार्यक्रममा सहभागी हुने प्रदेश सभापति बानियाँले जानकारी दिए।

पार्टीको वेभसाइटमा भएको पदाधिकारीको मर्यादाक्रममा उपसभापति खड्का दोस्रो नम्बरमा छन्। कोइराला २५ औं नम्बरमा छन्। महाधिवेशनलगत्तै बसेको पहिलो बैठकमै वरीयतालाई लिएर विवाद भएको थियो। कोइरालाले महाधिवेशनमा आएको मतले नै वरीयता निर्धारण गरिसकेको तर्क गर्दै आएका छन।

१४औं महाधिवेशनमा कांग्रेसका १ सय ३४ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। बाँकी ३३ जनालाई सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था थियो। साथै सभापतिमा पराजित स्वतः केन्द्रीय सदस्य हुने विधानकै व्यवस्था छ।

मधेस प्रदेश सम्मेलनमा छरपष्टै 

बिहीबार भएको कांग्रेसको मधेस प्रदेश सम्मेलनमा वरीयताको विवाद छरपष्टै भयो कोइराला पक्षीय नेताहरूले सम्मेलन बहिष्कार गरे। अर्का नेता विमलेन्द्र निधिले आसनग्रहण गर्न मानेनन्। पूर्वउपसभापति निधिलाई मञ्चमा आसनग्रहणका लागि पटकपटक बोलाइएको थियो। तर, उनी गएनन्।

आसनग्रहणको मर्यादा क्रमबाट उनी पनि असन्तुष्ट देखिन्थे। मधेस प्रदेश सम्मेलनको अघिल्लो दिनमा कांग्रेसका आठ नेताले सभापति देउवालाई पत्र पठाउँदै कोइरालालाई दोस्रो वरीयता दिन माग गरेका थिए। कांग्रेस विधानमा वरिष्ठ नेताको पदको व्यवस्था छैन। सभापतिमा पराजित नेतालाई वरिष्ठ नेताका रूपमा यदाकदा कांग्रेसले समेट्दै आएको छ। अन्नपूर्ण दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *