हास्य कन्टर्सका लागि अमेरिका यात्रामा ८ कलाकार

काठमाडौं । नयाँ वर्ष २०२४ को अबसरमा नेपालमा आठजना कलाकारहरुले अमेरिकाका विभिन्न शहरमा हास्य कन्टर्स प्रस्तुत गर्ने भएका छन् । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनीहरुले सो जानकारी गराएका हुन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा हुने कार्यक्रमका लागि आफुहरु अमेरिका जान लागेको कलाकारहरुले बताए ।

यो हास्य यात्रामा हास्य कलाकाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा सहभागी हुनेछन् । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने पनि कलाकारहरुले बताए ।

पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले पत्रकारसँग भने,‘अमेरिकामा रहेका नेपाली र नेपाली भाषीहरुलाई हँसाउनु नै कार्यक्रमको उदेश्य हो । विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यति धेरै कलाकारहरुले एकसाथ एउटै स्टेजमा हँसाउने हुँदा यो पटकको कार्यक्रम अझ भव्य हुने विश्वास मैले लिएको छु ।’

अर्का भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको यो नै पहिलो भएको बताए । परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको पनि जिकिर गर्दै उनले भने,‘मेरो यो पहिलो यात्रा हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउनेमा हामी कटिबद्ध छौं ।’ कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए ।

अमेरिकाका दुई दर्जन बढी सहरमा यो कार्यक्रम तय भइसकेको कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाटका क्रममा बताए । यी कलाकारको अमेरिका हँसाउने यात्रा ५ जनवरीदेखि भर्जिनियाबाट सुरु हुनेछ । कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिडको महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ, त्यसलाई यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको अधिकारीले बताए । बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको पनि उनले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *