हस्तरेखा परीक्षण नियम र पर्वतको स्वरूप

माधवप्रसाद पाण्डेय । अध्ययन गर्न सजिलो होस् भनेर नै होला ज्योतिष शास्त्रलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा विभक्त गरिएको छ । त्रिस्कन्धात्मक ज्योतिष शास्त्रमध्ये संहिता स्कन्धअन्तर्गत अध्ययन गरिने विषयहरू यस प्रकार छन्ः स्वप्नविचार, स्वरविचार, शकुनविचार, उत्पातादि विचार, वृष्टिविचार, वास्तुविचार, सामुद्रिकविचार आदि ।

संहिता स्कन्धअन्तर्गत पर्ने उपर्युक्त विषहरूमध्येकै सामुद्रिकसम्बन्धी विचार गर्ने शास्त्रलाई सामुद्रिक शास्त्र भनिन्छ । सामुद्रिक शास्त्रअन्तर्गत व्यक्तिको प्रभामण्डल, हात, हातका रेखाहरू, चिह्नहरू, तीलहरू आदिको अध्ययन गरिन्छ ।

घातप्रतिघात, लाभहानि, सुखदुःखमय, संघर्ष र तज्जन्य द्वन्द्वात्मक यस संसारका जटिलतम परिस्थितिहरूबाट मुक्त भई सफलतापूर्वक लक्ष्य साधन गर्नका लागि हस्तरेखा सार्थक र सहायक हुनसक्छ । हस्तरेखा र तज्जन्य रहस्यमय प्रभावका विषयमा लामो समयसम्म गम्भीर अध्ययन, मनन, चिन्तन, अनुसन्धान, प्रयोग र अनुभव प्राप्त गरेका मूर्धन्य विद्वान्द्वारा निर्माण गरिएका हस्तरेखा परीक्षणका नियम यसप्रकार छन्ः

१) हात हेर्ने र देखाउने दुवैको अवस्था असामान्य हुनुहुँदैन ।
२) हात हेर्नेको मन एकाग्र हुनपर्छ ।
३) एकान्त र शान्तिपूर्ण ठाउँ हुनुपर्छ ।
४) प्रातः सूर्योेदयपछि भोजन गर्नुभन्दा पहिलाको समय सामान्यतः उपयुक्त हुन्छ ।
५) आफूले पढे–जानेअनुसार हात र हातका रेखाहरूलाई स्थिर भएर विचार गर्नुपर्छ ।
६) दुवै हातका मूलरेखा र त्यसका सहायक रेखाहरूको स्थितिलाई पनि विचार गर्नुपर्छ ।
७) हातको रङ, बनोट आदिको समेत विचार गर्नुपर्छ ।
८) हातका ग्रहगत क्षेत्रको स्थिति, हात र हातका रेखाहरूमा स्थित चिह्नहरू आदिको पनि विचार गर्नुपर्छ ।

सामुद्रिक शास्त्रमा शारीरिक लक्षणका साथै हस्तरेखाको महŒव अत्यधिक हुन्छ, तर हस्तरेखा मात्र सामुद्रिक शास्त्रचाहिँ पटक्कै होइन, सामुद्रिक शास्त्रको एउटा प्रमुख अंग भने पक्कै पनि हो । त्यसैले, हस्तरेखाका साथै शरीरका अन्य लक्षणाको समेत अध्ययन गर्दा फलकथनमा बढी प्रभावकारिता हुन्छ ।

अपरिवर्तनीय एवं परिवर्तनीय रेखाहरूका विभिन्न चक्र तथा पुष्टता आदि संकेतहरूले छुट्टाछुट्टै विषय र क्षेत्रहरूको प्रतिनिधित्व गर्छन् ।

प्रथमतः हत्केलाको स्वरूपले व्यक्तिको स्तर निर्धारण गर्छ भने हातका औंलाहरूले उसको व्यक्तित्व निर्धारण गर्छ । त्यसैगरी हत्केलाका पर्वतहरू एवं रेखाहरूले प्रतिनिधित्व गर्ने क्षेत्रहरू स्थूल रूपमा यस प्रकार छन्ः

१. सूर्य पर्वतः जीवनको प्रतीक
२. चन्द्र पर्वतः कल्पनाशक्तिको प्रतीक
३. मंगल पर्वतः साहस एवं खतराको प्रतीक
४. बुध पर्वतः बुद्धि एवं वाक्चतुरताको प्रतीक
५. गुरू पर्वतः महत्वाकांक्षाको प्रतीक
६. शुक्र पर्वतः प्रेमको प्रतीक र
७. शनि पर्वतः न्याय एवं सन्तुलनको प्रतीक भनिन्छ ।

त्यसैगरी रेखाहरूका क्षेत्रहरू यसप्रकार छन्ः
१. जीवनरेखा–गोत्ररेखा–वंशरेखा – शारीरिक क्षमताको प्रतीक
२. हृदयरेखा–आयुरेखा–सम्भोगरेखा – भावनाहरूको प्रतीक
३. मस्तिष्क रेखा–मातृरेखा – सन्तुलनको प्रतीक
४. उध्र्वरेखा – भाग्यको प्रतीक र
५. सूर्यरेखा – सफलताको प्रतीक
तात्कालिक फलादेशका लागि विभिन्न पर्वसँग सम्बन्धित विषयहरूलाई यसरी छुट्याउन सकिन्छः

चोर औंला
चोर औंलाको पहिलो पर्वबाट शरीर, व्यक्तित्व र रूप–रङलगायतका प्रथमभावजन्य विषयहरूको अध्ययन गरिन्छ भने दोस्रो पर्वबाट धन, परिवार मृत्युजस्ता द्वितीयभावजन्य पक्षहरूको विचार गरिन्छ । त्यस्तै, तेस्रो पर्वबाट साहस, व्यापार आफन्तलगायतका तृतीयभावजन्य कुराहरू हेरिन्छ ।

माझी औंला
माझी औंलाको पहिलो पर्वबाट दशमभावजन्य नोकरी, पिता, कर्मबल आदि हेरिन्छ भने दोस्रो पर्वबाट एकादशभावजन्य गुप्तधन, लाभ, त्वरितकार्यसिद्धिजस्ता पक्षहरू विचारणीय हुन्छन् भने तेस्रो पर्वबाट द्वादशभावजन्य आँखा, हानी दण्ड आदिको विचार गरिन्छ ।

साहिली औंला
साहिली औंलाको पहिलो पर्वबाट चतुर्थभावजन्य माता, मस्तिष्क, उदर र वाहन आदि हेरिन्छ भने दोस्रो पर्वबाट पञ्चमभावजन्य विद्या, अनयास लाभ आदि हेरिन्छ । त्यस्ते, तेस्रो पर्वबाट षष्ठभावजन्य शत्रु, रोग, झगडा, आदि अनुचितकार्यको विश्लेषण गरिन्छ ।

कान्छी औंला
कान्छी औंलाको पहिलो पर्वबाट सप्तमभावजन्य स्त्री–पुरुष, गुप्तांग, व्यापार, आदि विचार गरिन्छ भने दोस्रो पर्वबाट अष्ठमभावजन्य आयु, पूर्वजन्म, गुह्येन्द्रियलगायतका विषयहरूको विचार गरिन्छ । त्यस्तै, तेस्रो पर्वबाट नवमभावजन्य भाग्योदय, धार्मिकता, यात्रा आदि शुभकार्यको अध्ययन गरिन्छ ।

यस साताको आकाश
विदेशी प्रभाव बढ्दै जाने देखिन्छ । परनिर्भरतातर्फ अग्रसर हुनेखाले निर्णय हुनसक्ने देखिन्छ । निष्पक्ष विज्ञको परामर्शअनुसरण गरेर आफ्नो कूटनीति जोगाउन सकिने मौका अझै पनि बाँकी छ । ससाना र निजी तुच्छ स्वार्थ छोडेर मुलुकको बृहत्तर उन्नयनको दृष्टिगत गर्दै योजनाबद्ध र निडर भएर कार्य गर्न समयले प्रेरित गरिरहेको छ । तर, आन्तरिक असहिष्णुता र परछिद्रान्वेषणका कारण बौद्धिक र कर्तव्यनिष्ठ वर्गप्रति राज्य असहिष्णु हुँदैजाने प्रवृत्ति हावी हुने अवस्था छ । सकारात्मक वातावरण निर्माण गर्न सजिलो छैन । तापनि, सम्भावना भने बाँकी नै छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *