बेनी । नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।
म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा शुक्रबार आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उनले निजी विद्यालयको योगदानको अवमूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुईथरि नागरिक उत्पादन गरेको बताए ।
“एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनीयर, वकिल बन्ने छन्, अर्काथरि विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडीमुलुक जानुपर्ने बिडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन”, उनले भने ।
नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रुपमा स्थापित गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उनले बताए ।