एजेन्सी । युवा फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) विजयी भएको छ । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ३-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदान पीएसजीलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा भिटिन्हाले एक गोल थपे । मेट्जको लागि मात्थेउ उडोलले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा भिटिन्हाले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६० औं मिनेटमा भिटिन्हाको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ७२ औं मिनेटमा उडोलले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८३ औं मिनेटमा एम्बाप्पेले दुई गोल गर्दै पीएसजीलाई ३-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै पीएसजी १७ खेलबाट ४० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको मेट्ज १४ औं स्थानमा रहेको छ ।