काठमाडौं । गत भदौ १६ गते राति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजालमार्फत सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिए । उनले सामाजिक संजालमा लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ सामाजिक संजालमा उनको समर्थन र विरोधमा धेरै बहस भए । यता संसददेखि सडकमा पनि यसबारे बहस भए । धेरै आलोचना भएपछि केही दिनमा बालेनले त्यो अभिव्यक्ति सामाजिक संजालबाट हटाए । हुन त उनले यसअघि पनि यस्ता विवादास्पद अभिव्यक्ति सामाजिक संजालमार्फत दिने गरेका थिए । सिंहदरबार नै आगो लगाउने किन भने भन्ने कौतुहलता सबैमा थियो । तर भोलिपल्ट थाहा भयो कि प्रहरीले बिदाको दिन चलेको महानगरको गाडी रोकेर सोधपुछ गरेपछि उनले आक्रोशित हुँदै फेबुकमार्फत आपत्तिजक अभिव्यक्ति दिएका रहेछन् । महानगरको गाडीमा बालेनकी पत्नी सविना काफ्ले सवार रहिछन् र प्रहरीले सोधपुछ गर्यो भनेर उनको यस्तो अभिव्यक्ति आएको रहेछ ।
देशको राजधानी जस्तो महानगरको मेयर एकएक कुरा बोल्दा र काम गर्दा होशियार हुनुपर्ने हो तर बालेनमा त्यस्तो गाम्भिर्यता देखिएको छैन । जसका कारण सुरुमा कार्यशैलीको प्रशंसा पाएका बालेनको पछिल्ल्लो समय आलोचना बढी हुन थालेको छ । बालेनले गर्ने निर्णयहरूमा उनलाई अपरिपक्वको ट्याग लगाउने गरिन्छ । उनले गरेका दर्जनौं निर्णय यतिबेला अलपत्र परेका छन् अर्थात् अदालतले ब्रेक लगाइदिएको छ । हुन त काठमाडौंका मेयरका कानुनी, शिक्षालगायका सल्लाहकार नभएका पनि होइनन् । तर उनले गरेका निर्णयमाथि अदालतले प्रश्न उठाउँदै रोक लगाइदिएको छ । उनले हिन्दी सिनेमा चल्न नदिने निर्णय गरेर सिनेमा हलमा नगर प्रहरी नै खटाए । तर अदालतले त्यो निर्णय गलत भन्दै बदर गरिदियो । त्यस्तै नर्भिक अस्पतालको संरचना भत्काउने प्रयास महानगरले गर्यो । तर अदालतले रोकिदियो । त्यस्तै दूरसंचार प्राधिकरणको कार्यालय भत्काउने प्रयास गरे, त्यसमा पनि अदालतले रोक लगाइदियो । महानगरभित्रका सामुदायिक विद्यालय व्यवस्थापनको अध्यक्षमा वडाध्यक्षलाई राख्ने निर्णय गरे । तर अदालतले त्यसलाई पनि रोकिदिएको छ । त्यतिमात्र होइन, व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिन नपाउने निर्णय अदालतबाट बदर भयो । राप्रपा केन्द्रीय कार्यालय भत्काउने प्रयास पनि असफल भयो । त्यो पनि अदालतबाट बदर भयो । सूर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय पनि अदालतबाट राकियो ।
यत्रा निर्णयमा ठेस लाग्दा पनि मेयर साह भने त्यसलाई वेवास्ता गर्दै हिँडेका छन् । मेयरमा विजयी भएपछि उनले अहिलेसम्म कुनै सार्वजनिक कार्यक्रममा गएर जनताका गुनासा सुन्ने र त्यसको जवाफ दिएका छैनन् । सार्वजनिक कार्यक्रममा जाँदा आफू बोल्ने हिँड्ने सकियो । उनी अरु कसैको कुरै सुन्न चाहँदैनन् । सोमबार पनि त्यस्तै भयो । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए । तर मेयर साहले प्रधानमन्त्री भन्दा अघि नै बोले । उनले संघ सरकारले काठमाडौँका खोलानाला अतिक्रमण हटाउन, फोहोरमैला व्यवस्थापन र तीनकुनेको मुआब्जा विवाद समाधान नगरिदिँदा पार्क निर्माण गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । बालेनले यी कुरा प्रधानमन्त्रीले चाहे पाँच मिनेटदेखि एकघण्टामा समाधान हुने बताए । यति भनेर बालेन कार्यक्रमस्थलबाट बाहिरिए ।
पछि प्रधानमन्त्रीको बोल्ने पालो आउँदा बालेनलाई नदेखेपछि प्रधानमन्त्री प्रचण्ड रिसाए । प्रधानमन्त्रीले बालेनलाई अरुका कुरा पनि सुन्ने गर्न आग्रह गरे । उनले भने, ‘बालेन्द्रजी आफू बोलेर गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुराचाहिँ भनिहाल्ने, अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म।’
सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णयमा अदालतले रोक लगाउनुलाई चाहिँ सही मान्न सकिँदैन । तर सिंहदरबारमा आगो लगाउने धम्कीदेखि बालेनले गरेका अरु निर्णयमा अदालतले रोक पक्कै त्यसै लगाएको होइन । लहडमा गरेका निर्णय भएकैले त होला अदालतले रोकेको । यतिधेरै ठेस लाग्दा पनि किन अझै बालेन प्रश्नबाट भाग्दैछन् त ? बालेनले ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको कुरा सुन्नुपथ्र्यो र चित्त नबुझे प्रधानमन्त्रीसँग त्यही थप कुरा गर्नुपथ्र्यो । तर उनको व्यवहारले बालेनले एकलौटी निर्णय गर्छन् भन्नेहरूलाई पनि बल थपेको छ । के नागरिकसंगको संम्वाद बिना उनले भने जस्तो काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने योजना सफल होला त ?