बीबीसी । उत्तर–पश्चिम चीनमा गएराति गएको भूकम्पमा परी कम्तीमा एकसय ११ जनाको मृत्यु हुनुका साथै दुईसय भन्दा बढी घााइते भएका छन् । गान्सु प्रान्तमा मध्यरातमा भूकम्प गएको थियो।
त्यहाँ र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ । अमेरिकी संस्था युएसजीएसले भूकम्प ५.९ म्याग्निच्यूडको रहेको जनाएको छ । केही घण्टापछि सिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ । तर ५.५ म्याग्निच्यूडको उक्त भूकम्पले पुरयाएको क्षतिबारे प्रस्ट जानकारी प्राप्त भएको छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन् । आपतकालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनको गरिबी धेरै भएका इलाकाहरू मध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन् ।
त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको जनाइएको छ।