काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनदेखि कमाण्ड सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसक्दा भद्रगोल बन्यो । पार्टीको भ्रातृ संगठनलाई चलायमान बनाउनुको साटो सिथिल बनाए । संसदीय इतिहासमै कांग्रेसलाई कमजोर बनाएका सभापति देउवाको मनमौजी अहिले पनि जारी छ । १३ औं महाधिवेशनमा निर्वाचित भएका महामन्त्री शशांक कोइराला बलियो प्रतिपक्ष बन्नु पर्नेमा त्यसो गरेनन् । जसले गर्दा देउवाले आफूखसी निर्णय गर्दै जाँदा कांग्रेसको १४ औं महाधिवेशन पनि धकेले । आफ्नो कार्यकाल लम्ब्याए ।
२०७२ फागुन २४ गते सभापति चुनिएका देउवाको कार्यकाल २०७६ फागुन २३ सम्म भए पनि उनले कार्यकाल दुई वर्ष लम्ब्याए । देउवासामु पदाधिकारी चुँइक्क बोल्न सकेनन् । तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्लि महाधिवेशन’को क्यालेन्डरले पनि काम गरेन । देउवाले आफू अनुकुल भएपछि २०७८ मंसिरमा पार्टीको १४ औँ महाधिवेशन गराए । पार्टीको महाधिवेशनबाट दुई युवा महामन्त्री निर्वाचित भए । ८० टेक्दै गरेका परिपक्व नेतृत्वसँग ५० टेक्दै गरेका र ५० कटेका दुई युवा महामन्त्रीले कांग्रेस चलायमान हुन्छ भन्ने कांग्रेस कार्यकर्ताहरुको अपेक्षा थियो । तर, देउवाको अगाडि दुई युवा महामन्त्रीले पनि पार्टीमा दबाब बढाउन सकेनन् ।
त्यसो त संस्थापनइतर समूहलाई देउवाले तितरबितर बनाएपछि पार्टीको महाधिवेशन गराए । शशांक कोइरालाले तत्कालीन संस्थापन इतर समूह छाडेर देउवालाई साथ दिए । शशांकको सहयोगमा देउवाको आत्मविश्वास मात्रै बढेन चुनाव पुनः जित्ने आशा पलायो । तितरबितर बनेको संस्थापन इतर समूहलाई तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्हाल्न सकेनन् । त्यसपछि देउवाले त्रासमुक्त समाज निर्माणका लागि एक पटक आफू पुनः सभापति हुने बताए । उनले आफूलाई सभापतिमा जिताए स्थानीय तहदेखि केन्द्रीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गर्ने उद्घोष गरेका थिए । उनको भनाइ अनुमोदन पनि भयो । देउवा सभापतिमा निर्वाचित भए । कम्युनिष्ट घटक माओवादी केन्द, एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेर नेपाली कांग्रेस देशकै ठूलो राजनीतिक दल बन्यो ।
संसदको ठूलो दल भएर पनि सरकार गठनमा आफ्नो भूमिका राम्रो देखाउन नसकेको भन्दै पार्टीभित्र देउवाको आलोचना पनि भयो । त्यसो हुनुमा गठबन्धन भएर चुनाव लड्दा माओवादी तेस्रो ठूलो दल बनेको थियो । सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले च्याँखे दाउ राखे । कांग्रेसको मत संसदको ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने थियो, जुन स्वभाविक पनि थियो । तर, बहुमत पु-याउन सक्ने अवस्था नभएपछि च्याँखे दाउ हानेका प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बने । गठबन्धन गरेर चुनावमा गए पनि टिकाउन नसकेको भन्दै पार्टीभित्र देउवाको चर्को आलोचना भयो । लगत्तै देउवाको चालमा पुरानो गठबन्धनलाई ब्यूँताइयो । त्यसको चर्काे आलोचना गर्ने व्यक्ति थिए महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । उनीहरु दुबैबाट देउवाको मनोमानी रोक्नका लागि पार्टीभित्र प्रतिपक्षको भूमिका खेल्छन् भन्ने थियो । दुबैले पार्टीको रुपान्तरणको कुरा चर्को रुपमा उठाउँदै आएका थिए । अहिले पनि उठाउँदै आएका छन् तर, देउवासामू निरिह जस्तै बनिरहेका छन् । यतिसम्मकी सत्तागठबन्धनको बैठकमा दुबैलाई ‘साइड’ लगाएर उनी आफै बैठकमा सहभागी हुन्छन् ।
देउवाले चाहेअनुसार अहिले कांग्रेस पार्टी चलिरहेछ । कुन समयमा बैठक राख्ने, कुन समयमा स्थगित गर्ने सबै पार्टी सभापतिको शुरमा चलिरहेको छ । देउवाले दुई महामन्त्रीले राखेको प्रस्तावलाई समेत अटेर गर्दै आफू अनुकुल समयमा चल्दै आइरहेका छन् । पार्टीभित्र महामन्त्रीले प्रस्ताव त पेश गर्छन् तर, देउवाले पटक–पटक ‘कू’ गर्दै आइरहेका छन् । पार्टीलाई चलाएमान बनाउन केन्द्रीय समिति बैठक दुई–दुई महिनामा हुनुपर्ने महामन्त्रीद्वयको भनाइ थियो । देउवाले केन्द्रीय समितिको बैठक ६ महिनासम्म नराख्दासम्म दुई महामन्त्री नाजवाफ छन् ।
संस्थापनइत्तर समूहले महासमिति बैठक नसार्न देउवालाई जोड दिँदै आएका थिए । गत साता मात्रै बसेको कांग्रेस संस्थापनइत्तर समूहले पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्नुपर्ने र बैठक नसर्ने बताएका थिए । तर, देउवाले राष्ट्रियसभाको चुनावको मिति देखाएर महासमिति बैठक फागुन ७ देखि १० गतेसम्मका लागि धकेलिदिए । महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिको बैठक विधानतः प्रत्येक वर्ष बोलाउनुपर्ने व्यवस्था छ । महाधिवेशनको वर्ष बाहेक हरेक वर्ष विधानतः बस्नुपर्ने कांग्रेस महासमिति बैठकले पार्टीको नीति तथा कार्यक्रमका साथै विधान संशोधनसहित महत्वपूर्ण विषयमा निर्णय लिन सक्नेछ । तर, कांग्रेसमा पार्टीभन्दा पनि व्यक्ति हाबी बन्दा महासमिति बैठकको मिति पटक–पटक धकेलिँदै आइरहेको छ । कांग्रेसमा नेतृत्वले जे गरे पनि ठिक हुन्छ भन्ने थिति बस्ने परम्परा चल्दै आएको छ ।
महाधिवेशन भएको दुई वर्ष भइसक्दा पनि कांग्रेसले कोषाध्यक्ष चयन गर्न सकेको छैन । जबकि ६ महिनामा कोषाध्यक्ष चयन गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय सदस्य किस्ताकिस्तामा मनोनीत गर्ने काम भइरहेको छ । केन्द्रीय समितिमा मनोनीत सदस्य’bout महामन्त्रीद्वय थापा र शर्माले अहिलेसम्म केही थाहा नपाउने अवस्था छ । त्यति मात्रै होइन कांग्रेसको भ्रातृ संगठन पनि चलायमान हुन सकेको छैन । भ्रातृ संगठनको बैठक आयोजना गर्नु प¥यो भने रंगशाला खोज्नुपर्ने अवस्था छ । नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत भएका छन् । एक केन्द्रीय सदस्यले अर्को केन्द्रीय सदस्यलाई नचिन्ने अवस्था छ । त्यस्तै तरुण दलमा ४०० केन्द्रीय सदस्य थपिएका छन् ।
क्यालेन्डरअनुसार कुन मितिमा कुन कार्यक्रम गर्ने कांग्रेसको क्यालेन्डरमा स्पष्ट लेखिएको छ । तर, अहिलेसम्म कुनै कार्यक्रम चल्न सकेको छैन ।
कांग्रेस पार्टीले बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव सम्पन्न ग-यो । कांग्रेसले भदौ २४, २५ र असोज ३ गते गरेर तीन दिनसम्म महोत्सव सम्पन्न ग-यो । यी भन्दा बाहेकका धेरै जसो विषय क्यालेन्डरभन्दा बाहिर गएका छन् ।
क्यालेन्डरअनुसार चलेको भए हाल नेपाली कांगेसले १५ मंसिरदेखि १५ माघसम्म दुई महिने घरदैलो कार्यक्रम चलाइरहेको हुन्थ्यो । तर, नेतृत्वसँगको रस्साकस्सी र पार्टीभित्रै बनेका गुट र उपगुटका कारण अभियान चल्न नसकेको कांग्रेसका एक नेताले बताए ।
‘पार्टी नेतृत्व एकजुट भएको भए कांग्रेसको अवस्था अहिले यस्तो हुन्न थियो,’ ती नेताले भने, ‘हामी अहिले जनताको बिचमा जाँदा पनि एउटा कार्ययोजन अनुसार जान सक्थ्यौं तर, त्यसो हुन सकेन ।’
पार्टी क्यालेन्डरअनुसार भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायसँग कांग्रेसको संवाद कार्यक्रम स्थगित गरियो । भदौ २९ मा बाल दिवसको अवसरमा गर्ने भनिएको ‘कांग्रेस विपन्न छात्रवृत्ति अभियान’, असोज २ मा गर्ने भनिएको ‘गणेशमान सिंह स्मृति दिवस’ आयोजना क्यालेन्डरमा सिमित भयो । क्यालेन्डरअनुसार कात्तिक २४ गते आयोजना हुनुपर्ने सुवर्ण शमशेर स्मृति दिवसको अवसरमा गर्न लागिएको आर्थिक कन्क्लेभ पनि हुन सकेन । सो कार्यक्रम किन हुन सकेन भन्ने विषयमा कांग्रेसको नेतृत्वसँग कुनै जवाफ छैन । यतिसम्मकी मंसिर १६ मा भीमबहादुर तामाङ स्मृति दिवसमा नीति संवाद गर्ने शीर्ष नेतृत्वले प्रतिबद्धता जनाएर क्यालेन्डरमा राखिएको कार्यतालिका नाममा मात्रै सिमित भयो । राजधानी दैनिकमा खबर छ ।