गाजा युद्ध केही महिना चल्ने इजरायली रक्षामन्त्रीको भनाई

इजरायलका रक्षामन्त्रीले एक जना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएका छन् ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई रक्षामन्त्री योभ ग्यालान्टले युद्ध केही समय चल्ने र त्यसमा विजय प्राप्त हुने बताएका हुन् ।

यसैबीच गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा एकसय ११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौं घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्याइएको जनाएको छ ।

गाजा शहरको केन्द्रमा रहेको अल–दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १८ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *