ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७ औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायण प्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउनेछन् । यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *