डब्लुएचओको मानङ्कअनुसार ‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग

काठमाडौँ । औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि ‘म्याचुरेटी’ (परिपक्कता)को तीन तहमा पुग्ने तयारी थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको मानङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानाङ्कलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ ।
विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ ।

“हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्कताको दुई तहमा रहेका छौँ” उनले भने, “परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।”

तीन तहको परिपक्कता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले मान्ने खाले हुने, निष्पक्ष, पारदर्शीता र औषधि गुणस्तरिय हुने उनको भनाइ रहेको छ ।

परिपक्कताको चार तहमा पुगेपछि डब्लुचएओले सूचिकृत गर्ने गरेको छ । औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग प्रयाप्त मात्रामा जनशक्ति रहेका छैनन् ।

विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् ।

“हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्” उनले भने, “यसले गर्दा हामीले उद्योग, औषधि पसलको प्रयाप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।”

विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय विदेशी कम्पनी दर्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *