राजनीतिमा ‘झिल्के’ प्रवृत्ति

काठमाडौं । बुधबार काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सहभागी हुन काभ्रेको धुलिखेल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरिएको र त्यसबाट नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका बताए । उनले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने बताए । यसो भन्दै गर्दा प्रधानमन्त्रीले नेपाली युवाहरु रुसी सेनामा भर्ती भएको प्रसंग पनि निकाले । उनले भने, ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् ।’

दीक्षान्त समारोहपछि प्रधानमन्त्री काभ्रेको पाँचखालमा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गर्न पुगे । कार्यक्रममा प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए । उनले
काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्ने प्रतिबद्धता जनाए ।

नेकपा एमाले यतिबेला मध्यपहाडी लोकमार्ग यात्रामा छ । बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा अहिले कोशी प्रदेश पुगेको छ । बुधबार एमालेको यात्रा भोजपुर पुगेको थियो । भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताए । कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थ, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला बेलायत भ्रमणमा छन् । प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने अरु दललाई चुनौती दिँदै भन्दै थिए १३ वटा मन्त्रालय ४ वर्ष हामीलाई चलाउन दिनुस् हामी ८४ मा एकजना उम्मेदवारको प्रचारप्रसार नगरी कामको आधारमा चुनाव जितेर देखाइदिन्छौं ।

 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपाका सभापति लामिछाने सबैको विचार ठिक छ । देशमै काम गर्ने वातावरण बनाउने अनि हाइड्रोजन ग्यासबाट चल्ने सवारीसाधनको प्रवद्र्धन गर्ने प्रधानमन्त्रीका कुरा राम्रा हुन् । यस्तो सोच आउनु राम्रो हो । देशमा काम गर्ने वातावरण छ भन्दा रुसी सेनामा जान युवा किन बाध्य भए भन्ने कुराको कुनै छलफल भएको छ त ? भन्दा छैन । अनि हाइड्रोजन ग्यासबाट गाडी चलाउने कुरा राम्रो हो । तर केयुका प्राध्यापकहरु यसबारे कानुन नै नभएको भन्दै अन्यौलमा छन् । यी कुरा कहाँ आउँछन् त भन्दा सिलान्यास, उद्घाटन, विमोचनमा जाँदा मात्र ।

एमाले अध्यक्ष ओलीले अहिले दैनिक तीन चार वटा सभालाई सम्बोधन गर्दै हिँडेका छन् । उनको भाषणमा एउटै कुरा हुन्छ, त्यो भनेको सत्ता गठबन्धनले विकास गरेन, आफैं खायो, देशको ढुकुटी लुट्यो । अनि यात्राका क्रममा दोलालघाट पुग्दा माछा फ्राइ गर्ने र नेताहरुलाई खुबाउने अनि कतै सभाको मञ्चबाट सुन्तला बाँडेर जनमत बटुल्न तल्लिन छन् ।

उनी आफैं दुई पटक प्रधानमन्त्री भए । नेकपाको बहुमतको सरकारमा प्रधानमन्त्री रूपमा आफ्नो दोस्रो कार्यकालमा ४१ महिना नेपालको शासनको नेतृत्व गरेका ओलीसँग कार्यकारी प्रमुखका रूपमा इतिहास रच्ने स्वर्णिम अवसर भएपनि आफू केन्द्रित राजनीतिमा रुमलिँदा त्यो गुमाउन पुगे । तर आज तिनै ओली नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपनले भन्न थालेका छन् । रास्वापा पनि मिसन ८४ भन्दै हिँडेको छ । उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा जाँदा रवि लामिछानेको काम पनि हेरिएको छ । जघन्य अपराधमा संलग्न नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई कसरी जोगाए भन्ने कुरा सबैले स्पष्ट देखेका छन् । तर उनै रवि अहिले पद गएपछि संसदीय समितिमा कोइरीलाई खोजेको खोइ भन्दै प्रश्न गर्न थालेका छन् ।

यहाँ देश विकासका लागि चौविसै घण्टा खटेको छु भन्ने प्रधानमन्त्री प्रचण्ड, राजनीतिक नेतृत्वका कारण देश गरिव भयो भन्ने ओली र १३ मन्त्रालय दिए देशको कायापलट गर्दिन्छु भन्ने रवि सँगै बसेर देश विकासका बारेमा बहस र छलफल गरेको भने सुनिँदैन । अझ अहिले त भाषण गर्ने कार्यक्रम भएन भने सामाजिक संजालबाट एकले अर्कोलाई छेडछाड गर्ने काम हुन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले व्यवस्थाविरुद्ध आन्दोलन घोषणा गरेपछि तिहार अघि एक पटक केही दलबीच सर्वदलीय बैठक बसेको थियो । तर त्यहाँ पनि देश विकासको एजेण्डा भने बनेन् । अझ कांग्रेस कोइराला गुट र देउवा गुट भनेर गुटमा रुमलिएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीमा पनि त्यस्तै छ । माघका तोकिएको महाधिवेशन जेठमा सारिएको छ । यसलाई लिएर नेताहरुबीच मतभेद भएको बताइन्छ ।

राजनीतिक विश्लेषक सूर्यराज आचार्यले नेताहरुको यस्तो प्रवृत्तिलाई ’झिल्के’ अभियानको रुपमा टिप्पणी गरेका छन् । उनी पपुलर हुन आफूमात्र सही र अरु सबै गलत भन्ने यो प्रवृत्तिले आफैंलाई सिध्याउने बताउँछन् । उनी भन्छन्, ‘बौद्धिकता, मिडिया, राजनीति, सरकार तथा राज्य लगायत समाजका हरेक पक्षमा ‘झिल्के’ प्रवृत्ति हावी हुँदै गरेको देखिन्छ । ‘झिल्के’ अभियानले क्षणिक रमाइलो त देला तर अपेक्षित परिणाम दिँदैन।’ राजनीतिक विश्लेषक आचार्यले भनेझैं दलका नेताहरु अब पनि यस्तै ‘झिल्के’ प्रवृत्तिमा रमाउने कि हिजोको गल्तीको आत्मालोचना गर्दै एक ठाउँमा बसेर देश विकासको योजना बनाउने ? नत्र यस्तै तालले बन्ला त देश ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *