माइनस २६ डिग्री सेल्सियस चिसो सहेर सीमा सुरक्षा

काठमाडौं । बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम मापन भयो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बुधबार बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिन गएको हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । बुधबार त्यसभन्दा पनि तल झरेको हो ।

५ डिग्रीभन्दा माथिको तापक्रममा पनि काठमाडौं उपत्यकावासीले चिसो महसुस गरिरहँदा नेपालको उत्तरी सीमामा कार्यरत सुरक्षाकर्मीले कसरी आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने कौतूहलता जोसुकैलाई पनि लाग्न सक्छ । किनकि, माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा रहेर उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ ।

समुन्द्री सतहबाट ४ हजार १ सय ३२ मिटरको उचाइमा रहेको सुदूर पश्चिमको दार्चुलास्थित बोर्डर आउट पोस्ट (बीओपी) तिंकरमा कार्यरत सशस्त्र प्रहरीका सुरक्षाकर्मीले अहिले माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा काम गर्नुपरिरहेको छ ।

यस ठाउँमा विगत चार महिनादेखि सशस्त्र प्रहरी बल नेपालको उपस्थिति छ । व्यास गाउँपालिका–१ तिंकरमा २२ भदौ २०८० मा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको हो । यस क्षेत्रको अन्तर्राष्ट्रिय सीमादेखि करिब ११ किलोमिटरको दूरीमा बीओपी रहेको छ । सदरमुकामबाट १ सय १२ किलोमिटर टाढा रहेको बीओपी तिंकर उच्च हिमाली भेग र भिरालो जमिनमा अवस्थित छ । बीओपी स्थापना र सिमानामा सिपाहीको उपस्थिति स्थानीय बासिन्दाका लागि सुरक्षाको प्रत्याभूति र राष्ट्रियताप्रतिको भावनात्मक सम्बन्ध जोड्ने सेतुसमेत भएको छ ।

उता, समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा रहेको हुम्लाको हिल्सामा पनि माइनस २६ डिग्री सेल्सियसको तपक्रममा सशस्त्र प्रहरीले काम गर्नुपर्ने अवस्था छ । ६ असार २०७७ मा हिल्सामा बीओपी स्थापना भएको हो । यो ठाउँ सदरमुकामबाट ९६ किलोमिटर र अन्तर्राष्ट्रिय सिमानादेखि ३ सय मिटरको दूरीमा अवस्थित छ । हिल्सामा मंसिरदेखि फागुनसम्म हिउँले ढाक्ने भएको हुँदा अत्यन्त चिसोमा सुरक्षाकर्मीले काम गर्नुपर्ने अवस्था छ ।

बीओपी हिल्साको जिम्मेवारी क्षेत्रभित्र १५ वटा सीमा स्तम्भ रहेका छन् । जाडो मौसममा अत्यधिक हिउँ पर्ने र वर्षभरी बेलुकाको समयमा चिसो हावा चल्ने तथा बिहान ११ देखि २ बजेसम्म मात्र घाम लाग्ने इलाकामा बीओपी रहेको छ ।

उता, नेपालको सबैभन्दा उचाइमा रहेको बीओपी नेचुङ मुस्ताङ हो, जुन समुन्द्री सतहबाट ४ हजार ६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँ १५ जेठ २०७७ बाट सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्टका माध्यमबाट राष्ट्रसेवक सिपाही तैनाथ छन् । यो ठाउँ सदरमुकामबाट १ सय १० किलोमिटरको दूरीमा रहेको छ । यस ठाउँमा कात्तिकदेखि वैशाखसम्म बाक्लो हिउँ पर्छ । यस ठाउँमा जाडोको समयमा न्यूनतम तापक्रम माइनस २६ डिग्रीसम्म हुन्छ ।

बीओपी स्थापनासँगै सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको समन्वयमा राजस्व संकलन, अवैध चोरीनिकासी कार्यलाई निरुत्साहित पार्न नियमित पट्रोलिङ, चेकजाँच, चिनियाँ समकक्षीसँग आवश्यक समन्वय र संयुक्त गस्ती, सीमा पिलरको रेखदेख गर्दै आएको छ । यति मात्र नभई बीओपीले स्थानीय जनताको मनमा सुरक्षाको प्रत्याभूति दिलाउने कार्य पनि गरिरहेको छ । साथै, सशस्त्र प्रहरीको तैनाथ फौजले अवैध काठ बरामद, अवैध आवतजावत नियन्त्रण, वन्यजन्तु चोरीनिकासी नियन्त्रण र शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापनसमेत गर्दै आइरहेको छ ।

नेचुङ मुस्ताङमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक कर्णबहादुर विकका अनुसार, यस ठाउँमा खाना पकाउने ग्याँससमेत जमेर ढिक्का भएपछि दाउरा बाल्दै तातोपानीमा सिलिन्डर डुबाएर प्रयोग गर्नुपर्ने अवस्था छ । अहिले सो बीओपी रहेको स्थान’round हिमपात सुरु भइसकेको छ । यहाँ अहिले रातको समयमा माइनस १५ डिग्रीसम्मको चिसो हुने गरेको छ । त्यो चिसो पछि गएर माइनस २६ डिग्रीसम्म पुग्छ ।

यस्तै, ४ हजार २ सय मिटरको उचाइ रहेको संखुवासभाको किमाथांकामा २९ पुस २०७६ बाट सशस्त्र प्रहरी बल नेपालको बीओपी तैनाथ छ । यहाँ माइनस २० डिग्रीसम्मको चिसो सहनुपर्ने अवस्था छ । यो ठाउँ सदरमुकाम चैनपुरबाट १ सय ६२ किलोमिटरको दूरीमा पर्छ । यस ठाउँमा पुग्न गाडीका अलावा पैदल यात्रा पनि गर्नुपर्ने अवस्था छ । यस ठाउँमा रहेको बीओपी अन्तर्राष्ट्रिय सीमादेखि जम्मा २ सय मिटरको दूरीमा छ ।

यस्तै, ताप्लेजुङको ओलाङ्चुङ्गोलामा २१ असोज २०७७ बाट सशस्त्र प्रहरी तैनाथ छ । ताप्लेजुङ सदमुकामबाट ९० किलोमिटरको दूरीमा रहेको बीओपीमा माइनस १२ डिग्रीसम्मको चिसोमा रहेर सुरक्षाकर्मीले काम गर्नुपर्ने अवस्था छ ।

समुन्द्री सतहबाट ३ हजार २ सय मिटर उचाइको विकट हिमाली क्षेत्रमा रहेको यस ठाउँमा सशस्त्र प्रहरी कर्मचारीले निरन्तर गस्ती र पट्रोल गरिरहेका छन् । यस ठाउँबाट ५ हजार २ सय मिटरको उचाइमा चीनतर्फको सिमाना टिपतला भञ्ज्याङ छ ।

ओलाङ्चुङ्गोला बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीले चिसोका बाबजुद पनि सशस्त्र प्रहरीले नियमित एलआरपी र सीमा गस्ती गरिरहेको बताए ।

यस ठाउँमा अहिले रातको समयको तापक्रम माइनस ५ डिग्री रहेका कारण चिसोले जमेको हिउँ फुटाएर तताउँदै पानीको आवश्यकता पूरा गर्दै आफ्नो कर्तव्यमा विचलित नरहेको सशस्त्र प्रहरी निरीक्षक कार्की बताउँछन् । हाल २ हजार २ सय मिटरको उचाइमा रहेको बीओपीको नयाँ भवन ३ हजार ७ सय मिटर उचाइमा तयार भइसकेको छ ।

हाल २ सय ५२ वटा बीओपीमा सशस्त्र प्रहरी बल नेपालको फौज तैनाथ रहेको छ, जसमध्ये उत्तरी सीमा इलाकामा नौवटा बीओपी र दक्षिणी सीमा इलाकामा २ सय ४३ वटा बीओपी छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *