इजरायल द्वन्द्व सदाका लागि समाधान गर्न मस्कोद्वारा राष्ट्रसङ्घीय सम्मेलनको आह्वान

 

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले बुधबार इजराइल र प्यालेस्टिनीहरूबीचको युद्धको दिगो समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग आह्वान गरेका छन् ।

मस्कोले बारम्बार प्यालेस्टिनी राज्य निर्माणको आह्वान गरेको छ र उसको हमास तथा इजरायल दुवैसँग कामकाजी सम्बन्ध छ । मस्कोले हमासलाई आतङ्कवादी सङ्गठनको मान्यता दिएको छैन ।

रुसी विदेशमन्त्री लाभारोभले रुसी सिनेटरहरूसँग भने, “यो समस्याको सदाका लागि समाधान गर्ने र न्यायसङ्गत तरिकाले समाधान गर्ने एक मात्र तरिका भनेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यसँग एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु हो ।”

उनले सम्मेलनमा अरब लिग, इस्लामिक सहयोग सङ्गठन र खाडी सहयोग परिषद्का मुलुकहरूको प्रतिनिधि सहभागी हुनुपर्ने बताए । “राष्ट्रसङ्घले यस्तो प्रकारको सम्मेलन आयोजना गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री लाभारोभले भने, “राष्ट्रसङ्घका महासचिव यस्तो प्रकारको पहलका लागि अत्यन्त सक्षम हुनुुहुन्छ भन्ने मलाई विश्वास छ ।”

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्यमा चीन, फ्रान्स, बेलायत, अमेरिका र रुस रहेका छन् । “प्यालेस्टाइन राज्य निर्माणको वाचा दिइएका प्यालेस्टिनी जनताविरुद्ध जारी अन्यायले धेरै गम्भीर आतङ्कवादी र चरमपन्थी भावनालाई प्रवर्द्धन गर्दछ”, उनले  भने ।

मन्त्री लाभारोभले अक्टोबरमा इजराइलमा अभूतपूर्व आक्रमण गर्दा हमासले बन्धक बनाएका बन्धकहरूको रिहाइका लागि मस्कोले आफ्नो शक्तिका साथ सबै गरिरहेको पनि स्पष्ट गरे । हमासले हालैका सातामा तीन रुसी नागरिकलाई रिहा गरेको छ । उक्त रिहाइ इजराइलसँग हमासले गरेको सम्झौताअनुसार रिहाइ गर्नुपर्ने बन्धकहरूको सूचीबाट बाहिर थियो ।

गाजामा इजराइलको सैन्य कारबाहीका क्रममा रुसले उसको आलोचना गरिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विनाशकारी’ मानवीय स्थितिको निन्दा गरेका छन् ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले इजराइलमाथि आक्रमण गरेपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको छ । हमासको आक्रमणमा अधिकांश सर्वासाधारणसहित करिब एक हजार दुई सयको ज्यान गएको छ भने हमासले करिब दुई सय ४० मानिसलाई बन्धक बनाएको छ ।

हमासलाई समाप्त पार्न र बन्धकहरूलाई घर फर्काउनका लागि दृढ सङ्कल्पित इजराइलले गाजामाथि विनाशकारी हवाई तथा स्थल आक्रमण गरेको छ । इजराइलको आक्रमणमा अधिकांश महिला र बालबालिकासहित १८ हजार चार सयभन्दा धेरै मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *