बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नम्बर २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नम्बर १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नम्बर २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो ।

प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दूर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारीले निर्णायक मण्डलमा थिए ।

विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रमुख डंगोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

‘गएको बर्ष धिमे बाजा प्रतियोगिता आयोजना गरेका थियौँ । यस बर्ष बाँसुरी बादन प्रतियोगिता गर्यौँ । अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका रहनसहन, बाजागाजा, भेषभुषा, श्रृङ्गार, भाषा, साहित्य र सिर्जना जोगाउने काम गर्नेछौँ ।’ उनको भनाइ थियो ।

प्रतिस्पर्धामा आएका सबै समूह विजेता हुन् । पहिलो, दोस्रो र तेस्रो स्थान प्राविधिक कुरा हो । प्रतिस्पर्धाका विषयमा धारणा राख्दै सम्पदा समितिका संयोजक आशामान संगतले भने, ‘समुदाय र परम्परागत खलः पुचः सँग महानगरपालिकाको आत्मीय सम्बन्ध स्थापित हुने काम गर्नेछौँ ।’

महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । बिजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसरी प्रोत्साहन प्राप्त गर्नेमा वडा नं. १२ को धर्मचक्र तःननी खल, वडा नं. ८ को ग्वल बाजं खलः, वडा नं. २२ को पाक्वःपुखुद्या मानन्धर सनाः खल, वडा नम्बर २४ को केशचन्द्र महाविहार संरक्षण समाजका प्रतियोगी समूह थिए ।

प्रतियोगीले परम्परागत वेषभुषा र गरगहना (सृङ्गार) मा प्रस्तुति गरेका थिए । एउटा समूहमा १२ जनासम्मले भाग लिन पाउने सर्त थियो । प्रतियोगी समूहका ८ जनाले बाँसुरी मात्र बजाएका थिए । केही समूहले तीनवटै बाँसुरी समावेश गरेका थिए । ठूलो र मध्यम वा मध्यम र सानो बाँसुरी बजाउनु प्रतियोगिताको अनिवार्य सर्त थियो ।

समूहका बाँकी ४ जनामध्ये २ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्येका ३ वटा बाजा समावेश गरेका थिए । २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाएका थिए ।

प्रतियोगितामा समूह दर्ता गर्दा प्रतियोगीले ५ वटा धुन छानेर पठाएका थिए । पठाइएकामध्ये प्रतियोगितामा २ वटा धुन बजाउनु पर्ने थियो । त्यसमध्येको पहिलो धुन आफैँले रोजेको बजाएका थिए । बाँकी ४ वटामध्ये गोलाबाट छान्दा आएको धुन दोस्रो प्रस्तुतिका रुपमा बजाएका थिए ।

एउटा धुन बजाउन ५ मिनेट समय दिइएको थियो । प्रस्तुति सक्न ४ मिनेटमा संकेत दिइएको थियो । छोटा धुन २ वटासम्म मिलाएर बजाउन दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *