प्रधानमन्त्रीको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुवातको सन्देश दिन्छुः प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए ।

“प्रधानमन्त्रीको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुवातको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ।

उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्ने बताए ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रधानमन्त्री महिला होस् भन्ने चाहेको बताए ।

उनले भने, “अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।” उनले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाई र आवश्यक बजेट विनियोजन गर्ने बताए ।

“पार्कका लागि बहुवर्षीय कार्यविधि बनाएर सफल बनाउने दायित्व सबैको भएकाले आउने बजेट नीति तथा कार्यक्रममा नयाँ ढङ्गले लैजाने छौँ”, उनले भने ।

उनले महिला उद्यमी हरित क्रान्तिको निम्ति मञ्चका पदाधिकारीले अग्रिम मोर्चा सम्हालेको उल्लेख गर्दै सरकार पन्ध्रौँ पञ्चवर्षीय योजनाको समीक्षा गर्ने र १६औँ योजनाको तयारीको प्रक्रियामा रहेकाले १६ औँ योजनामा महिला उद्यमी र हरित उद्योगलाई प्राथमिकता दिने गरी अगाडि बढाउने सोच बनाएको बताए ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर अघि बढिरहेको बताए । उनले भने, “सरकार यो पटक अर्थतन्त्रमाथिको दबाब कम गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाल राष्ट्रको छवि र प्रतिष्ठा बढाउन, अन्तर्राष्ट्रिय सहयोग जुटाउन, देशभित्र सुशासन र सामाजिक न्याय कायम गर्नको निम्ति निरन्तर अगाडि बढिरहेको छ र बढ्छ ।”

कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले पाँचखालमा निर्माण थालिएको महिला उद्यमी हरित औद्योगिक पार्कका लागि आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सातवटै प्रदेशमा स्थापना गर्ने तयारीका साथ सरकार अघि बढेको बताए ।

उनले भने, “विदेशिने युवाभन्दा महिला कम छन्, अब महिलाले पुरुषले लिएको अग्रस्थान लिँदैछन्, उनीहरुको भूमिका बढ्दैछ, यो खुसीको विषय बनेको छ ।”

मञ्चको भौतिक संरचना निर्माणका लागि ९६ करोड लाग्नेमध्ये पहिलो चरणमा ४० करोडको ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् । नगरले पक्की पहुँचमार्ग निर्माण गरेको छ भने खानेपानीको व्यवस्थापन गरिरहेको छ ।

मञ्चसँग पाँचखाल नगरले वडा नम्बर ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो । मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् । स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने रिजालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *