अब संसदीय दलको नेता परिवर्तनमा लागौंः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनको प्रस्ताव गरेका छन् । बुधबार संस्थापनइतर समूहको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता शेखर कोइरालालाई बनाउनुपर्ने बताएका हुन् । उनले संसदीय दलको नेता परिवर्तन नगरे २०८२ मा महाधिवेशन नहुने बताए ।

उनले भने, ‘संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ । संसदीय दलको नेता परिवर्तन नगरे २०८२ मा महाधिवेशन हुँदैन । त्यसैल शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं।’

उनले आफू र शेखर कोइरालाबीच कुनै मतभेद नभएको बताएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवा आफैं गुटको संरक्षक भएको आरोप लगाए ।

महामन्त्री थापाले सभापति देउवाले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफैं एउटा समूहको संरक्षक जस्तो भएको आरोप लगाए । उनले भने, ‘आफ्नो समूहमा भएकालाई एउटा व्यवहार, जो आफ्नो समूहमा छैन र अधिवेशनमा आफूलाई मत दिएन उसलाई हेर्ने अर्को नजर भयो । यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सभापति सिंगो पार्टीको सभापति बन्न सक्नु हुन्छ कि हुन्न भन्ने कुरामा भेलामा छलफल भयो ।’

बैठकमा राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाले बताए । बुधबारको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा पनि छलफल गम्भीर छलफल भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *