‘गोर्खा वारियर’ बेलायतको ‘बाफ्टा अवार्ड’ मा छनोट

काठमाडौं ।  बेलायतमा अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत लोकप्रियता हाँसिल गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ।

चलचित्र गोर्खा वारियरका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्ड पछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ। यो अवार्डमा नेपाली चलचित्र चयन हुनुलाई नेपाली चलचित्रकै ठूलो सफलता मानिएको छ।

‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अबस्थामा नेपाली चलचित्र गोर्खा वारियार बेलायतकै प्रतिष्ठित अवार्ड वाफ्टामा चयन हुनु नेपाली चलचित्र उधोगकै लागि गौरवको बिषय हो,’ निर्देशक चाम्सले भने।

यो अवार्डमा प्रदर्शनी गरिने चलचित्रहरुको सूची वाफ्टाले सार्वजनिक गरेको छ। यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली चलचित्र गोर्खा वारियरले यो अवार्डमा चयन भएको हो।

यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा चलचित्र गोर्खा वारियरले प्रतिस्पर्धा गर्ने पनि निर्देशक चाम्सले जानकारी गराएका छन्।

अब यो अवार्डको लागि यी विधाहरुको लागि उत्कृष्ट पाँचको मनोनयन सूची अगाामी १८ जनवारीमा सार्वजनिक गरिने भएको छ। त्यसपछि मनोनयनमा परेका फिल्मका विभिन्न विधाबीच आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा यो अवार्ड आयोजना हुने भएको छ।

चलचित्र गोर्खा वारियरलाई नेपालमा भने आगामी फागुन वा चैतमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक चाम्सले जानकारी गराए । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन्।

उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। लन्डनको यो ऐतिहाँसिक प्रिमियरपछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने छ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्।

यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *