पूर्वी र दक्षिणी अफ्रिकाका पाँच देशमा एन्थ्र्याक्स रोगको प्रकोप

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी र दक्षिणी अफ्रिकाका पाँच देशमा एन्थ्र्याक्स रोगको प्रकोप फैलिएको बताएको छ । यो रोग ‘ब्यासिलस एन्थ्र्यासिस ’ नामक ब्याक्टेरिअमका कारण लाग्छ । डब्ल्यूएचओका अनुसार यो रोगका ११ सय जनाभन्दा बढी बिरामी फेला परेका छन् । ३७ जनामा यो रोग लागेको पुष्टि भएको छ।

केही महिनाभित्र एन्थ्र्याक्स रोगसँग सम्बन्धित कारणले गर्दा २० जनाको मृत्यु भएको बताइएको छ । एन्थ्र्याक्सको प्रकोप देखा परेका देश केन्या, मलावी, यूगान्डा, जाम्बिआ र जिम्बाब्वे हुन् ।

डब्ल्यूएचओका अनुसार यो रोग अहिले ती देशमा ‘स्थानिक प्रकोप’का रूपमा छ। त्यहाँ प्रत्येक वर्ष यो रोगको मौसमी प्रकोप फैलिन्छ ।  पाँच देशमध्ये जाम्बिआमा फैलिएको प्रकोप सबैभन्दा ठूलो हो। त्यहाँ १० मध्ये नौ प्रान्तमा यो रोग फैलिएको छ। नोभेम्बर २० सम्म जाम्बिआमा ६८४ जनामा सङ्क्रमण, २५ जनामा रोग पुष्टि र चार जनाको यो रोगका कारण मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।

एन्थ्र्याक्सले प्रायः घरपालुवा जनावरलाई सताउँछ। सङ्क्रमित जनावरको प्रत्यक्ष सम्पर्कमा पुग्दा वा तिनबाट उत्पादित वस्तु उपभोग वा प्रयोग गर्दा मानिसलाई पनि एन्थ्र्याक्स सर्न सक्छ ।

यो रोगको कारक ’ब्यासिलस एन्थ्र्यासिस’ प्रायः ‘स्पोर’ अर्थात् बीजाणुको रूपमा बाँचिरहन्छ। स्पोर वर्षौँ माटोमा जीवित रहन्छ अनि घाउचोट लाग्दा माटोबाट जनावर वा मानिसको शरीरभित्र प्रवेश गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *