रियल म्याड्रिड सतप्रतिशत जितसहित अन्तिम १६ मा

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको समूहचरणको अन्तिम खेलमा जर्मन क्लब युनियन बर्लिनलाई ३-२ गोलले हराउँदै म्याड्रिडले लिगमा लगातार छैटौं जित निकालेको हो ।

बर्लिनमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जोसेलुले दुई गोल गर्दा डानी सेबालोसले एक गोल थपे । बर्लिनको लागि केभिन भोल्याण्ड र एलेक्स कार्लले समान एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा भोल्याण्डले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यसअघि ४५ औं मिनेटमा मोड्रिक पेनाल्टीमा चुक्दा म्याड्रिडले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो ।

६१ औं मिनेटमा रोड्रिगोको क्रसमा जोसेलुले हेडर गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ७२ औं मिनेटमा गार्सियाको क्रसमा जोसेलुले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए । ८५ औं मिनेटमा कार्लले गोल गर्दै बर्लिनलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । तर ८९ औं मिनेटमा बेल्लिन्घामको पासमा सेबालोसले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै म्याड्रिड ६ खेलबाट १८ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको अन्तिम १६ मा पुग्दा पराजित बर्लिन समान खेलबाट २ अंक जोड्दै समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *