एलपीएलमा शुक्लाफाँटा र धनगढी क्रिकेट एकेडेमी विजयी

कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार भएका दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा माध्यमिक विद्यालयलाई पराजित गर्यो । पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो । समुह चरणमा सबै तीन खेल खेल्दा दुई जित र एक हार बेहोरेको शुक्लाफाँटाले समूह ‘ए’ बाट सेमीफाइनल प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ ।

दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भएमा शुक्लाफाँटा र धनगढीमध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ ।

शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो । कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले दुई÷दुई विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनायो ।

शुक्लाफाँटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै बिशाल ऐरले ४३ बलमा छ चौका र दुई छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए । कैलाली क्रिकेट क्लबको लागि विनोद बोहराले तीन विकेट तथा धर्मराज जोशीले दुई विकेट लिए ।

त्यस्तै दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा माध्यमिक विद्यालयलाई ८१ रनले पराजित ग¥यो । १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो । धनगढी र शारदा दुवै टिम सेमीफाइनल रेसबाट बाहिर भइसकेका छन् ।

लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले चार विकेट लिए यस क्रममा ३.५ ओभरमा १६ रन खर्चिए । विजय रानाले दुई तथा हिक्मत महरा, मान साउद र निरज ऐरले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सात विकेट गुमाएर १७० रन बनायो । धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए । ११५ रनमा सात विकेट गुमेको अवस्थामा र युवराजले अविजित ५५ रनको साझेदारी गरे ।

प्रतियोगिताको सेमीफाइनल पुग्ने तीन टिमको टुङ्गो लागिसकेको छ । समूह ‘बि’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *