भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य समझदारी

भक्तपुर । भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

लशान नगरपालिका उपप्रमुख लेइ चियनसिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार दुवै नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायत क्षेत्रमा सहयोग आदानप्रदान हुनेछ ।

लशान नगरपालिकाका उपप्रमुखले दुई नगरबीचको सहकार्यबाट आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

त्यसअघि चिनियाँ टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्र, ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको भ्रमण गरेकोे थियो ।

पाँच दिवसीय नेपाल भ्रमणका शिलशिलामा लशान नगरपालिकाकाे ६ सदस्यीय प्रतिनिधिमण्डल साेमबार काठमाडाैँ आएकाे हाे । भ्रमणअघि प्रतिनिधिमण्डलले नेपाल पर्यटन बाेर्ड, हाेटल संघ नेपाल र नेपाल टुर एण्ड ट्राभल्स एसाेशियसनका अधिकारीहरूसँग भेट गरेकाे थियाे ।

स्वदेश फर्किनुअघि साे प्रतिनिधिमण्डलले लुम्बिनीकाे भ्रमण गर्ने र लुम्बिनी विकास काेशका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेकाे छ ।

लशान जाइन्ट बुद्ध, अमै शानलगायत तीन सांस्कृतिक सम्पदा लशानभित्र छन् । चिया, जडिबुटी, फलफुल उत्पादनमा पनि लशानकाे स्थान अग्रपङ्तिमा रहेकाे उपमेयर लेइले बताए ।

लशानका विभिन्न विश्वविद्यालयमा ४५ नेपाली विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गरेका छन् । लुम्बनीबाट झण्डै पाँच सय वर्षअघि लगेर राेपिएका पिपलका रूखहरू लशानकाे सम्पदा भित्रै छन् ।

लशान जाइन्ट बुद्ध व्यवस्थापन समिति र लुम्बनी विकास कोषबीच द्विपक्षीय आदानप्रदानसम्बन्धी सम्झौता रहेको छ । त्यसैगरी लशान नगरपालिका र लुम्बिनी सांस्कृतिक, तानसेन र रामग्राम नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *