प्रधानमन्त्री कप क्रिकेटमा बैतडी शीर्ष स्थानमा

बैतडी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता गर्यो । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा चार विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो ।

उसका रेवती धामीले २८ र कप्तान बिन्दु रावलले २४ रन बनाइन् । बैतडीका लागि करिष्मा थापा र वसन्ती बोहराले एक/एक विकेट लिइन् ।

त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा दुई विकेटको क्षतिमा १२९ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन् ।

कञ्चनपुरका लागि अर्चना चन्दले एक विकेट हात पारिन् । रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताए । प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टिम व्यवस्थापक अनिल विष्टले बताए ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।

काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *