रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।
युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरेका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उनीमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।” साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्ने क्रेमलिनले घोषणा गरेको छ ।
उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नेछन् । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ ।
युएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएका छैनन् ।
‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उनी सहभागी भएनन् ।
उनी सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी भएनन् । यद्यपि उनले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिएका थिए ।
मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ । आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ । आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुबै मुलुकले हस्ताक्षर नगरेकाले उनलाई त्यहाँ गिरफ्तार गरिने छैन ।