महाधिवेशनको नयाँ मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न आज सचिवालय बैठक बस्दैछ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यस समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *