किरात गोल्डकप : बिर्तामोड युनाइटेड विजयी

पाँचथर  । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा बिर्तामोड युनाइटेड क्लब झापा विजयी भएको छ ।

रेडहर्स फुटबल क्लब इलामलाई १–० गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोडका लागि श्याम मुर्मुले २२औँ मिनेटमा गरेको गोल नै विजयका लागि प¥याप्त बन्यो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा मुर्मुको गोल नै निर्णायक बन्यो ।

आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित हुँदै गोलकर्ता मुर्मुले रु. पाँच हजार रकम, पदक र प्रमाणपत्र प्राप्त गरे । शनिबारबाट सुरु प्रतियोगितामा आज डाँगीहाट फुटबल क्लब मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुने आयोजक संस्था पाँचथर फुटवल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गरी प्रतियोगिता आयोजना गरिएको छ । खेलमैदानमा दर्शकका लागि बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले रु. चार लाख चार हजार ४४४ र उपविजेताले रु. दुई लाख दुई हजार २२२ सहित ट्रफी हात पार्नेछन् । प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लबले मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *