भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी । नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा छ दिनसम्म सञ्चालन भएको एसियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका दुई हजार तीन सय ९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् ।

उनले नौ चरणको प्रतिस्पर्धामा छ जीत र तीन बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद एक लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेन माथि जीत हात पार्दै एकल विजेता बनेका हुन् ।

नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सात÷सात अङ्क जोड्दै उपविजेता बनेका बङ्गलादेशका आइएम मोहम्मद मीनहाज उद्दिनले नगद रु ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दरप्रीत सिंहले नगद रु ४० हजार जित्न सफल बनेका छन् ।

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बङ्गलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बङ्गलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अङ्क प्राप्त गर्दै चौथौँदेखि दशौँ स्थानमा समेटिन सफल बनेका थिए ।

हेटौँडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआइएम शुश्रुत दाहाल बाह्रौँ, डेबोस्निक तेह्रौ, आशिष राज चौधाँै र भारतका आदित्य बर्टके पन्ध्रौँ स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिंह प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलङ्काका सचिनि रानासिङ्घे प्रथम, इसानाभि दोस्रो भएका छन् ।

मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण एवं समापन समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हीराकाजी महर्जन, नेपाल खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेत, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठबाट विजयी खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *