धर्म, राजनीति र गेरुबस्त्र

काठमाडौं । कार्ल माक्र्सले धर्मलाईं अफिम भनेका थिए । कार्लमाक्र्सले तत्कालीन चर्चका घोर अमानवीय, क्रूर दमन तथा उत्पीडन देखेर धर्मलाई अफिम भनेका हुन् । यही कुराहरूलाई आधार बनाएर माक्र्सले धर्म आत्माहरूको आत्माहीन अवस्था हो भनेका हुन् । यही माक्र्सको भनाईलाई मान्दै नेपालमा पनि कम्युनिष्टहरुलाई धर्मको विरोधी भनिने गरिन्थ्यो । नेपालका कम्युनिष्ट नेताले धार्मिक संस्कार अनुसार बाबु आमाको निधन नहुँदा किरिया गर्दैनथे । माओवादी पक्षबाट द्वन्द्वका समयमा मन्दिर तोडफोड गर्नेदेखि किरियापुत्रीसमेतको हत्या गर्ने काम भयो । तर पछिल्लो समय कम्युनिष्ट नेताहरु मन्दिर पुगेर गेरुबस्त्र लगाएका तस्बिर सार्वजनिक हुन थालेपछि कम्युनिष्ट पार्टी, धर्म र ईश्वरकाबारेमा बहस हुन थालेको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा महाकालेश्वर मन्दिरमा गेरुबस्त्र लगाएर पूजा गरेको दृष्यले सबैलाई चकित बनायो । उनकै पार्टीका कतिपय नेतालेसमेत प्रचण्डको आलोचना गरे ।

त्यस्तै ‘झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्रा’ मा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका एमाले नेताहरु यतिबेला सुदूरपश्चिमका जिल्ला छन् । त्यहाँ उनीहरुले हरेक मन्दिरमा पूजा गरेको र गेरु बस्त्र लगाएका तस्बिरसमेत सार्वजनिक भएपछि यसबारे बहस सुरु भएको हो । यसअघि कहिल्यै मन्दिर नगएका प्रचण्ड महाकालेश्वरमा किन पूजा गर्न गए अनि त्यहाँबाट आएपछि पशुपतिनाथ मन्दिर किन गए त ? त्यस्तै तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदा ईश्वरको नाम नलिएका एमाले अध्यक्ष ओली मन्दिरमा गएर किन गेरुबस्त्रधारण गर्न लागे त ?

यसका लागि दुईवर्ष पछाडि अर्थात् २०७८ बैशाख ३१ गते फर्किनुपर्छ । तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केपी शर्मा ओलीले लिएको शपथ विवादित बन्यो । शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ओलीले प्रयोग गरेनन्, राष्ट्रपति भण्डारीले पुनः ‘प्रतिज्ञा गर्छु’ भनेपछि ओलीले ‘त्यो पर्दैन’ भने । त्यतिमात्र होइन ओलीले ‘ईश्वर,देश र जनताको नाममा शपथ लिन्छु कि’ भन्नुपर्नेमा ‘ईश्वर’ शब्द नै उच्चारण गरेनन् ।

शपथ ग्रहणको भाषाबाट ‘प्रतिज्ञा’ शब्द उच्चारण नगरेको भन्दै पुनः सपथ लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नै पर्यो । विवादपछि ओली सरकारले ‘सपथ सम्बन्धी अध्यादेश, २०७८’ जारी गर्दै शपथको ढाँचाबाट ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द नै हटायो । यतिबेला एमाले नेतृत्व पार्टीको अभियानका क्रममा सुदूरपश्चिममा छ । डोटीको शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेका एमाले अध्यक्ष ओलीलगायतका नेताहरुले पहेंलो बस्त्रको फेटा बाँधेका तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै बाटोमा परेका हरेक मन्दिरको दर्शन गरेका तस्बिर आफैंले सार्वजनिक गरेका छन् । अहिले ती तस्बिर सामाजिक संजाल प्रयोगकर्ताले शेयर गर्दै उनीहरू तीर्थ यात्राको उद्देश्य बोकेर हिँडेको भन्दै व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड महाकालेश्वरमा पुगेर पुजा गरेको विषय पनि ठूलै चर्चाको विषय बन्यो । भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रचण्डले पूजाअर्चना गरेका थिए । त्यसक्रममा प्रचण्डले गेरुबस्त्र धारण गरी पूजा गर्नुका साथै १०८ किलो विशिष्ट प्रकारको रुद्राक्ष चढाएका थिए । गेरुबस्त्र लगाएको भन्दै कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डले धार्मिक रुझान देखाएको भनेर विरोध पनि भयो । तर प्रधानमन्त्री प्रचण्डले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने भएकाले लगाएको बताए । उनको भनाइ थियो, ‘म लाउन्न भन्दा के हुन्थ्यो त, एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । नेपालीहरु के हो, नेपाल सरकार के हो भन्थे । मैले सहज ढंगले लगाउँदा सबै खुसी । म मनैदेखि धर्मनिरपेक्षवादी हो । धर्मनिरपेक्ष भनेको धर्मविरोधी होइन नि, सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा नगरोस् भन्ने हो । धर्म निरपेक्षवादी भएको नाताले हिन्दू, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मावलम्बी प्रति समान व्यवहार गर्नुपर्छ ।’

भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पशुपतिनाथको दर्शन गर्न पुगे । शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक चुनावमार्फत सत्तामा पुगेपछि प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको भट्ट नै फेर्ने प्रयास गरेका थिए । तर अहिले कहिल्यै मन्दिर दर्शन गर्न नगएका प्रचण्ड पशुपतिनाथ दर्शन गर्न जानु राम्रै कुरा हो । यहाँ त भनाई र गराई फरक भयो भन्ने मात्र हो । धर्म मानिसको आदिम विश्वास र धारणा हो । यसको सम्मान गर्नुपर्छ, तर धर्मभित्र सामन्ती संस्कार, विभेद र अपमानका सही नसक्नुका विधान र व्यवहार छन् ,यो कुनै हालतमा ग्राह्य हुन सक्दैन । तर धर्मलाई राजनीतिक साध्य बनाउने मनसुवा भने कुनै दलले राख्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *