बन्केवा, दसगाहा, खैरेनीटार र बराहडाँडा विजयी

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा जारी छब्दी चाँपस्वरा धमाका मेला-२०८० को तेस्रो दिन चार खेल समाप्त भएको छ । शुक्रबार दिउँसो भएको पहिलो खेलमा मान्द्रेलाई २-१ को सेटमा हराउँदै बन्केवा दोस्रो चरणमा पुगेको हो  ।

छब्दी देउरालीस्थित खेल मैदानमा भएको खेलको पहिलो सेटमा २५-११ ले विजयी भएको बन्केवाले दोस्रो सेट २५-१८ ले गुमाएको थियो । तर प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २७-२५ ले आफ्नो पोल्टामा पार्दै बन्केवाले खेल जितेको हो ।

दोस्रो खेलमा सिरिनडाँडालाई २-० को सोझो सेटमा हराउँदै दसगाहाले दोस्रो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो । पहिलो सेट २५-२७ ले आफ्नो पोल्टामा पारेको दसगाहाले दोस्रो सेटमापनि २५-१५ को सहज जित निकाल्न सफल भयो ।

तेस्रो खेलमा खैरेनीटारले सांखेलाई २-० को सोझो सेटमा पन्छाएको हो । पहिलो सेट २५ -२० ले जितेको खैरेनीले दोस्रो सेटपनि २७-२५ ले जितेको हो ।

यस्तै दिनको अन्तिम खेलमा बराहडाँडाले लालिमलाई २-१ को सेटमा हराएको हो । रोमान्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट बराह डाँडाले २५-१९ ले जितेको थियो । दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको लालिम २७-२५ ले विजयी भएको थियो । तर प्रतिस्पर्धात्मक तेस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्दै बराहडाँडा अगाडि बढेको हो ।

आजको खेलमा विजयी हुने सबै टोली दोस्रो चरणमा प्रवेश गरेका छन् । यससँगै पहिलो चरणको खेल सकिएको छ । भोलि आइतबारबाट दोस्रो चरणका खेल शुरु हुने आयोजकले जनाएको छ । भोलि हुने पहिलो खेलमा नयाँगाउँले छब्दी चाँपस्वरा युथ क्लब ‘रातो’सँग प्रतिस्पर्धा गर्नेछ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना भएको प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद तीस हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद बीस बजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ भने भने तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई विशेष आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *