पोखरा । मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि २० प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
प्रतियोगितामा विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । आर्मीको आजको प्लेइङ ११ मा ओपनर सन्तोष कार्की बाहेक अन्य सबै खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।
आर्मीले ओपनर सन्तोष कार्कीलाई पाँचौं ओभरको चौथो बलमा गुमाएको थियो । प्रदीप पासवानको बलमा एलबीडब्लू आउट हुँदै कार्की १३ बलमा ३ चौकासहित आउट भए । मध्यगतिका बलर प्रतिक यादवले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा ५ रनमा क्याच आउट गराए ।
११ औं ओभर मधेशको जितको टर्निङ प्वाइन्ट बन्यो । कप्तान हरिशंकर शाहले विनोद भण्डारीलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए ।
मधेशका हरिशंकर साहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।
प्रतियोगिताको उपाधि विजेता मधेश प्रदेशले नगद ५ लाख, उपविजेता आर्मीले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । म्यान अफ द सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाहले जिते उनले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे, उत्कृष्ट बलर बागमती प्रदेशका सन्दिप लामिछाने र उत्कृष्ट व्यास् म्यान बागमतीकै रित गौतमले जिते । उनीहरुले नगद २०÷२० हजार प्राप्त गरे ।