काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गत भदौ २ गते राति सामाजिक संजालमा सिंहदरबारमा आगो लगाइदिने भन्दै स्टाटस लेखे । उनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ रातको समयमा किन बालेनले यस्तो लेखे भनेर सबैलाई कौतुहलता भयो । तर भोलिपल्ट थाहा भयो कि बालेनकी पत्नी सवार महानगरको गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको भन्दै उनले यस्तो आक्रोश पोखेका रहेछन् । शनिबार विदाको दिन सरकारी गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले सोधपुछ गरेको रहेछ । विदाको दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ । तर बालेन पत्नीले चढेको गाडीको पास नभएकाले ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको रहेछ । सिंहदरबारमा नै आगो लगाउने बालेनको यो अभिव्यक्तिको सदनदेखि सामाजिक संजालमा धेरै विरोध पनि भयो । त्यसपछि उनले आफ्नो स्टाटस हटाएका थिए ।
देशको राजधानीको मेयरको यो व्यवहार पक्कै पनि उदण्ड किसिमको थियो । सायद सर्वसाधारणले यस्तो लेखेको भए उसलाई सरकारले पक्राउ गरी मुद्दा नै चलाउने थियो । तर बालेनमाथि कुनै कारबाही भएन । हुन त उनको यो यस्तो खालको स्टाटस भने पहिलो थिएन । कहिले सांसद विकास कोषको रकमलाई लिएर सांसदहरूलाई वडा अध्यक्षसँग दाँजेर त कहिले ‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन’ भन्ने स्टाटस लेखेर विवादमा आइरहेका थिए ।
तर भदौ २७ गते अर्थात् सेप्टेम्बर १३ मा प्रतिष्ठित टाइम म्यागजिनले बालेनलाई यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको समाचार सार्वजनिक भयो । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ । सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । प्रतिबद्धता पुरा गर्नेक्रममा सहरका गरिबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको समेत म्यागजिनले उल्लेख गरेको छ ।
सामाजिक संजालमा यस्ता स्टाटस लेखेर विवादमा आइरहेका बालेनलाई टाइम म्यागजिनले यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा राखेपछि भने उनमा परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर उदीयमान व्यक्तिको सूचीले बालेनलाई कुनै प्रभाव पार्न सकेन । यसपछि पनि उनले यसलाई निरन्तरता दिएका छन् । बुधबार राति फेरि बालेनले यस्तै स्टाटस लेखेका छन् । यसमा पनि उनको आक्रोश राजनीतिक दलहरुप्रति नै छ । उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ ।’
बालेनको स्टाटस जुन दिन आयो त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन बाहिर आएको थियो । प्रतिवेदनमा लामिछानेले बेथिति नसुध्रिए ०८४ अघि नै चुनाव माग्नुपर्ने विषय छ । प्रतिवेदनमा भनिएको छ, ‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ?’
मध्यवधि निर्वाचनको रास्वपाको प्रस्तावलाई लिएर बालेनको यस्तो अभिव्यक्ति आएको अनुमान पनि गरिएको छ । तर बालेनका काम पनि आलोचित नबनेका भने होइनन् । काठमाडौंका सडकमा फुटपाथका व्यापारीलाई महानगर प्रहरीले गरेको व्यवहारका दृष्य कम्ती दर्दनाक छैनन् । बालेन कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवार बनेर मेयरमा विजयी बनेका हुन् । अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा व्यवस्था नै परिवर्तन गर्ने भन्दै आन्दोलन भइरहेको छ । के बालेन पनि त्यही अभियानमा हो र यस्तो स्टाटस आएको हो ?