इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर’प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन भएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ठ भएको हो। प्रतियोगितामा १९५ राष्ट्रका प्रहरी सहभागी थिए ।

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘हाम्रो ग्रृह बचाऔं इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ।

सो अवसरमा इन्टरपोलका अध्यक्ष डा अहमद नासर अल–राइसीले प्रमाणपत्र हस्तान्तरण गरे । इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरले उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो ।

महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ । कुँवर नेतृत्वको टोली मंसिर १० गते अष्ट्रिया गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *