सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि सद्भाव आचार्यलाई

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत यो सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर सद्भाव आचार्यले जितेका छन् । सद्भावले प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करिअरको दोस्रो उपाधि जित्न सफल भएका हुन् । यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम दिन बिहीबार ३–अन्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७–अन्डर २७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन् ।

इभन–पार ७२ खेल्दै समग्रमा १०–अन्डर २७८ सहित दिनेश प्रजापति दोस्रो भए । प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । समग्रमा ७–अन्डर २८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे ।

आज २–ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन–पार २८८ प्रदर्शनमा चौथो भए । प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो । समग्रमा २–ओभर २९० को स्कोरमा निरज तामाङ पाँचौ भए।

उनले अन्तिम १८ होलको खेल इभन–पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए । पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३–ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३–ओभर २९१ को नतिजामा प्रतियोगिता सकाए । समग्रमा उनी छैटौं भए। समग्रमा ४–ओभर २९२ सहित रबि खड्का सातौं भए ।

उनले आज इभन–पार ७२ मा खेल सकाए । उनले ५० हजार प्राप्त गरे । आज ७–ओभर ७९ सहित समग्रमा ५–ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए । उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे ।

समग्रमा ६–ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए। धनले आज ६–ओभर ७८ र तोरणले ३–अन्डर ६९ स्कोर गरे । दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता थियो । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *