छुवाछुत आरोपमा वडाध्यक्ष अधिकारीलाई साढे चार महिना कैद सजाय

पोखरा । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई छुवाछुत आरोपमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजायको फैसला सुनाएको छ ।

अदालतले यसअघि धरौटीमा छोडेकोमा बिहीबार उनलाई ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई दलित समुदायको भन्दै गत माघमा दुर्व्यवहार गरेका थिए ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानामा ५० प्रतिशत थप गरेर बिहीबार फैसला सुनाएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जनप्रतिनिधि भएकाले उनलाई ५० प्रतिशत थप सजाय अदालतले तोकेको हो ।

अधिकारीले पीडित वडा सदस्यलाई १० हजार रुपैयाँ थप क्षतिपूर्ति दिनु पर्नेछ । सदस्य नेपालीको जाहेरीपछि वडाध्यक्ष अधिकारी गत वर्ष २६ पुसमा पक्राउ परेका थिए ।

अदालतले उनलाई गत ९ माघमा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको थियो । कांग्रेसका तर्फबाट अधिकारी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमार्फत वडाध्यक्ष चुनिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *