एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

काठमाडौं । नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन् । ७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले झडपको सम्भावनालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न भन्दै दुवै पक्षलाई फरक–फरक ठाउँमा प्रदर्शनका लागि सीमा तोकिदिएको छ । दुई फरक ठाउँमा प्रशासनले प्रर्दशनका लागि सीमा तोकिदिएपछि सम्भावित मुडभेड हुने सम्भावना भने टरेको छ । तर, प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था भने कडाइ गरेको छ । सुरक्षाकर्मीले सीमा नाकाबाट भित्रने सवारीसाधनमा एक सातादेखि चेकजाँचमा कडाइ गर्दै आइरहेको छ ।

जिल्ला प्रशासनले प्रदर्शनका लागि ठाउँ तोकिदिएपछि एमालेका तर्फबाट तीनकुनेमा हुने प्रदर्शनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गर्ने तयारी छ । प्रदर्शनमा ५० हजार मानिस सहभागी गराउने एमालेको भ्रातृसंगठन युवा संघले दाबी गरे पनि विभिन्न संगठनका संगठित भएका २५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासनले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई काठमाडौंको बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईंको प्रदर्शनमा विभिन्न जिल्लाबाट भेला भएर आउनेको संख्या करिब २० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ । नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।

काठमाडौं प्रदर्शनमा उतार्न प्रसाईंका पक्षमा लघुवित्तबाट ऋण लिएका र राजावादीको समूह रहने छन् । प्रदर्शन गर्न राजावादीले सचिवालय समिति नै गठन गरेर एक साताअघिदेखि काठमाडौंमा खाना र बस्ने व्यवस्था समेत गरिसकेका छन् ।

दुर्गा प्रसाईंंको नेतृत्वमा आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ । वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो । अभियानले २०४७ सालको संविधान पुनस्र्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार काठमाडौं, चितवन, बुटवल, पोखरा, हेटौंडालगायत देशभरका विभिन्न सहरमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।

सरकार सो प्रदर्शनको अवस्था हेरेर रणनीति तयार गरिरहेको बुझिएको छ । सरकार सो प्रदर्शनबाट त्रसित नभए पनि सम्भावित जोखिम र दुर्घटना हुन सक्ने’bout सचेत रहेको एक मन्त्रीले बताए । सामाजिक सद्भाव नभड्कियोस् र झडपको अवस्था नआसोस् भनेर सरकारले सुरक्षाफौजलाई तयारी हालतमा राखेको छ ।

दुर्गा प्रसाईं भने यो प्रदर्शन चर्काउने रणनीतिमा रहेको बुझिएको छ । राजावादी र लघुवित्त ऋणीको आडमा प्रदर्शन गर्न गइरहेका प्रसाईंले पार्टी प्यालेस र होटेलमा आफ्ना समर्थक राख्न सबै तयारी गरेका छन् । प्रसाईंले सञ्चारमाध्यममा बोलेको भनाइ हेर्ने हो भने पनि यो प्रदर्शन एक सातासम्म जान सक्ने बताएका छन् । उनले जिल्ला जिल्लामा पनि प्रदर्शन गर्ने बताइरहेका छन् । प्रसाईंको सो भनाइले सत्तारूढ दलका नेता केही सचेत त छन् नै प्रमुख प्रतिपक्ष दल एमाले पनि त्रसित छ ।

त्यसैले ७ मंसिरमा तीनकुनेमा हुन लागेको प्रदर्शन प्रसाईंलाई काउन्टर दिन महेश बस्नेतको नेतृत्वमा गर्न लागिएको हो । प्रर्दशनमा भ्रष्टाचार, अनियमितताको विषयलाई उठाए पनि सिंगो एमाले एउटा प्रसाईंविरुद्ध लागिरहेको देखिन्छ । प्रसाईंले अहिले आफ्नो आन्दोलन चर्काउन व्यवस्था परिवर्तन गर्ने भन्दै मानिसलाई उक्साइरहेका छन् । राजतन्त्र फर्काउने, नेपाललाई हिन्दु राज्य बनाउने र अहिलेको संघीय व्यवस्था खारेजको मागसहित राजावादीको आडमा प्रसाईं प्रदर्शनमा उत्रिएका छन् ।

प्रसाईंं एक व्यक्ति हुन् । उनको पछाडि केही युट्युबर छन् । राजावादी र लघुवित्तको ऋणमा डुबेका पूर्णरूपमा जनसमर्थनमा उनको अभियान चलेको छ । प्रमुख प्रतिपक्ष एमालेले एक व्यक्तिसँग प्रतिस्पर्धा गरेर के प्रमाणित गर्न खोजिरहेको छ अहिले कसैले बुझ्न सकेका छैनन् । पहिला माओवादी र एमालेबाटै पालितपोषित प्रसाईं अहिले उनीहरूका लागि टाउको दुःखाइ बनिरहेको छ ।

एमालेको भ्रातृसंगठन युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंंमाथि कालोमोसो फ्याक्ने हर्कत गरे । त्यसपछि आमनेसामने भएका हुन् प्रसाईंं र महेश बस्नेत । दुर्गा र महेश भिड्दासम्म यो व्यक्तिगत इगोको लडाइँ थियो । तर, ७ गतेको प्रदर्शनलाई एमालेले स्वामित्व लिएपछि अब एमालेको इज्जत दाउमा लागेको छ ।

प्रहरीले ड्रोनबाट बल्खुको प्रदर्शनको सुरक्षा निगरानी राख्ने

सम्भावित झडप र क्षति हुन सक्ने आँकलन गर्दै प्रहरीले ड्रोनबाट प्रसाईंले नेतृत्व गर्ने प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ । बल्खुमा हुने प्रदर्शनको प्रहरीले चाहिँ ड्रोन प्रयोग गरेर सुरक्षा निगरानी राखिने काठमाडौं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

काठमाडौं प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुईवटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शनस्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

सुरक्षा व्यवस्था कडा

७ मंसिरमा नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका छन् । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालित हुने छन् । काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४ सय ४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९ सय ७८ जना ट्राफिक प्रहरी परिचालित हुने छन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजनाअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुने छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *