धनगढी । कैलालीको धनगढीमा अनलाइन ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका –१० का २१ वर्षीय प्रशान्त बलायर, भारतीय नागरिक दिल्ली बस्ने ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जयराम सुनार, २६ वर्षीय कुनाल शर्मा रहेका छन् । यस्तै भारत दिल्लीकै २४ वर्षीय मिथिल कुमार, १९ वर्षीय प्रियंसु ठकुर, कञ्चनपुर पुनर्वास नगरपालिका –६ का २९ को मीनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुरकै बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, २८ वर्षीय कमल सुनारलाई प्रहरी पक्राउ गरेको छ।
उनीहरूको साथबाट ल्यापटप थान ११, विभिन्न कम्पनीका मोबाईल सेट थान ८, वल्ड लिंक राउटर थान १, हेडफोन थान १२ र किबोर्ड थान १ वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू मध्ये विशाल सुनारको नामबाट अबैध रुपमा धनगढीमा आई.टी सेक्टर सञ्चालन गरिएको थियो। धनगढी उप–महानगरपालीका– ५ तारानगर स्थित घरभाडा लिएर उनीहरूले विभिन्न ठाउँका नागरिकलाई अनलाइन ठगी गर्ने गरेको खुलेको छ।
विभिन्न बहानामा मनी लाउण्डरिङ् बिमा दुर्घटना लगायत विषयमा प्रलोभनमा पारेर उनीहरू अनलाइन ठगी गर्ने गरेका थिए। उनीहरूले विदेशी नागरिकलाई समेत ठगी गर्ने गरेको खुलासा भएको छ। प्रहरीका अनुसार उनीहरूले पोल्याण्ड लगायतका नागरिकहरूलाई अनलाइन ठगी गर्दै आएका थिए।