पहिलो चौमासिकमा महानगरको तीन अर्ब राजस्व उठ्यो

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९२ करोड ९६ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम गत आवको सोही अवधिको भन्दा १७ करोड रुपैयाँले बढी हो।

कामपाले गत आवको पहिलो चौमासिकमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार रुपैयाँ राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार चालु आवको ४ महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ र सम्पत्ति कर ४१ करोड ८६ लाख रुपैयाँ असुल भएको छ।

कामपाले चालु आवका लागि १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ। पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ।

‘गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करदाता बढेका छन्। बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्,’ उनले भने, ‘पछिल्लो समय १ हजार ३ सय करदाता थपिएका छन्।’

अहिले कामपामा ३ लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए। राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए।

कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ। लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा थप सहज भएको छ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक ३ लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए। उनका अनुसार हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्‍जन, व्यवसाय, विज्ञापन करलगायत ९ शीर्षकमा कर संकलन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *