फिफा विश्वकप छनोटका लागि नेपाल र यमनबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन् ।

फिफा वरियतामा १५६औ स्थानमा रहेको यमनसँग १७३औ स्थानमा रहेको नेपालले खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्बटो एनेसको मुख्य प्रशिक्षणमा नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ । समूह चरणमा यूएईसँगको खेल ४–० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।

यस्तै, पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको यमन पनि अंकविहीन छ । यमनसँगको खेलका लागि साधारण प्याराफिटतर्फ ४ सय र भिआइपी प्याराफिटतर्फ १ हजार टिकट दर कायम गरिएको छ ।

टिकटहरु खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने जनाइएको छ । खेलका लागि नेपाल आएका यमनको राष्ट्रिय टोलीलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ ।

नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेको थियो । जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *