खरबुजा कसरी बन्यो प्यालेस्टिनीहरूको प्रतीक ?

रातो, कालो, सेतो र हरियो रङ्ग खरबुजामा मात्र हैन, प्यालेस्टिनी झण्डामा पनि छन् । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणबीच प्यालेस्टिनीहरूको समर्थनमा निकालिएका जुलुसहरू तथा सामाजिक सञ्जालका अनगिन्ती पोस्टहरूमा त्यस्तो प्रतीक प्रयोग गरिएको देखिन्छ । खरबुजा प्यालेस्टाइनको प्रतीक बन्नुको इतिहास छुट्टै छ । सन् १९६७ को अरब–इजरायल युद्धपछि इजरायलले गाजा र वेस्ट ब्याङ्क कब्जा गर्यो । त्यसपछि इजरेलले ती क्षेत्रमा प्यालेस्टिनी झण्डा र उक्त झण्डासँग मिल्दाजुल्दा रङ्गाजस्ता राष्ट्रियताका प्रतीकहरू बोक्न प्रतिबन्ध लगायो । आफ्नो देशको झण्डा बोक्नु फौजदारी अपराध बनेपछि प्यालेस्टिनीहरूले विरोधको रूपमा खरबुजाका टुक्राहरू प्रयोग गर्न थाले ।

इजरायल र प्यालेस्टाइनले सन् १९९३ मा ओस्लो सम्झौताका रूपमा चिनिने अन्तरिम शान्ति सम्झौताहरूको एउटा शृङ्खलामा हस्ताक्षर गरेपछि प्यालेस्टिनी अधिकारीहरूले झण्डालाई मान्यता दिए । प्यालेस्टिनी प्रशासन कब्जा गरिएको वेस्ट ब्याङ्कका केही भागहरू र गाजामा शासन गर्न खडा गरिएको थियो ।

‘गाजा स्ट्रिपमा जवान पुरुषहरूलाई एक पटक काटिएका खरबुजाहरू बोकेको आरोपमा पक्राउ गरिएको थियो। यद्यपि उनीहरूले रातो, कालो र हरियो प्यालेस्टिनी झण्डाला रङ्ग मिलाएर प्रदर्शन गर्दै थिए। उनीहरू एक पटक प्रतिबन्धित झण्डा फहराएर जुलुसमा सैनिकको साथमा उभिएका थिए,’ द न्यूयोर्क टाइम्सका पत्रकार जोन किफ्नरले ओस्लो सम्झौतामा हस्ताक्षर भएपछि लेखेका थिए ।

त्यसको धेरै महिनापछि सन् १९९३ को डिसेम्बरमा त्यो पत्रिकाले उक्त गिरफ्तारीबारे गरिएको दाबी पुष्टि हुन नसकेको जनायो । यद्यपि उसले “इजरेली सरकारका प्रवक्तालाई सोध्दा उनले त्यस्ता घटनाहरू भएको हुन सक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन“ भनेको पनि उल्लेख गर्यो ।

त्यसबेलादेखि कलाकारहरूले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउन खरबुजालाई चित्रण गर्ने खालको कला सिर्जना गर्न कार्यलाई जारी राखेका छन् । सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एउटा खालिद होरानीको पनि हो। सन् २००७ मा उनले ‘सब्जेक्टिभ एट्लस अफ प्यालेस्टाइन’ नामक पुस्तकका लागि खरबुजाको टुक्राको चित्र बनायो । ‘द स्टोरी अफ द वाटरमेलन’ भनिने उक्त कलाले संसारभरि यात्रा गर्यो र सन् २०२१ मेमा इजरेल–हमास द्वन्द्वका बेला थप प्रमुखता पायो ।

खरबुजालाई चित्रण गर्ने कार्यको वृद्धि यस वर्षको सुरुमा पनि भयो । जनवरीमा इजरायली राष्ट्रिय सुरक्षा मामिला हेर्ने मन्त्री इटामर बेन गभिरले प्रहरीलाई सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन निर्देशन दिए । उनले ती झण्डा फहराउने कार्य ‘आतङ्कवादको समर्थनमा’ भएको बताएका थिए। इजरायली विपक्षी जुलुसहरूमा पनि खरबुजाका चित्रहरू देखापरेका थिए ।

इजरायली कानुनले प्यालेस्टिनी झण्डालाई निषेध गर्दैन तर प्रहरी र सैनिकहरूले सामाजिक अवस्था खलल हुन सक्ने ठानेमा त्यस्ता झण्डाहरू हटाउने अधिकार उनीहरूलाई छ । गत जुलाईमा जेरुसलेममा भएको विरोध प्रदर्शनमा इजरायली प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डाको रङ्गका खरबुजा बोकेर प्रदर्शन गरेका थिए।

त्यसमा उनीहरूले ‘स्वतन्त्रता’शब्दका साथमा ती चिह्नहरू राखेका थिए । गत अगस्टमा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको न्यायिक सुधार गर्ने योजनाहरूको विरोध गर्न तेल अभिभमा भेला हुँदा पनि प्रदर्शनकारीहरूको एउटा समूहले खरबुजा अङ्कित टी–शर्ट लगाएका थिए । हालै खरबुजाहरू र खरबुजाका चित्रहरू गाजा युद्धको विरोध गरिएका सामाजिक सञ्जाल पोस्टहरूमा मुख्य रूपमा देखापरेका छन् ।

उदाहरणका लागि, टिकटकमा ब्रिटिश मुस्लिम हास्य कलाकार सुमिरुन नेस्साले खरबुजाका फिल्टरहरू बनाए । त्यसबाट भएको सबै कमाइ गाजालाई सहयोग गर्ने परोपकारी संस्थाहरूलाई दिने वाचा गर्दै आफ्ना फलोअरहरूलाई उक्त फिल्टर प्रयोग गरेर भिडिओ बनाउन उत्प्रेरित गरे । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो खाता वा भिडियोलाई सामाजिक सञ्जालहरूहरूले दबाइदिने डरले प्यालेस्टिनी झण्डाको सट्टा खरबुजाको चित्र वा चिह्न पोस्ट गरिरहेका पनि हुन सक्छन् ।

प्यालेस्टाइनलाई समर्थन गर्ने मानिसहरूले विगतमा इन्स्टाग्रामले ‘छदम् प्रतिबन्ध’ लगाएको आरोप लगाएका थिए । उनीहरूका अनुसार उक्त सञ्जालले निश्चित पोस्टलाई अन्य प्रयोगकर्ताको फीडमा देखा नपर्ने बनाइदिएको थियो । त्यस्तो अहिले पनि भइरहेको छ भन्ने कुनै प्रमाण भेटिएको छैन । खरबुजालाई प्यालेस्टाइनमा दशकौँसम्म राजनीतिक प्रतीकको रूपमा मानिन्थ्यो। विशेषगरी पहिलो र दोस्रो इन्तिफादास (प्यालेस्टिनी विद्रोह) मा त्यसलाई त्यस्तो प्रतीक मानिएको थियो । अहिले खरबुजा उक्त इलाकामा अविश्वसनीय रूपमा लोकप्रिय फल मात्र बनेको छैन, प्यालेस्टिनीहरू र उनीहरूको सङ्घर्षलाई समर्थन गर्ने पुस्ताका लागि शक्तिशाली प्रतीक पनि बनेको छ।
बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *