एजेन्सी । अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप-२०२३ को फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया आठौँपटक विश्वकपको फाइनलमा पुगेको हो ।
जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा २ सय १५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अष्ट्रेलियाको लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाउँदा स्टेभिन स्मिथले ३०, डेभिड वार्नर,ए २९, जोश इंग्लिसले २८, मार्नुस लाबुसेनले १८ मिट्चेल स्टार्कले १६ र प्याट कमिंसले १४ रन बनाए ।
दक्षिण अफ्रिकाको लागि गेर्लाड कोट्जे र टाब्रिज शम्सीले समान दुई-दुई विकेट लिँदा कागिसो रबडा, एडिन मार्क्रम र केशव महाराजले समान एक-एक विकेट लिए ।
इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो। मध्यक्रमका ब्याटर डेविड मिलरको शतकमा दक्षिण अफ्रिकाले सम्मानजनक योगफल तयार गरेको हो । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । एक समय २४–४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
जितसँगै अष्ट्रेलिया फाइनलमा अपुग्दा दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । अब अष्ट्रेलियाले आइतबार हुने फाइनल खेलमा घरेलु टोली भारतको सामना गर्नेछ ।