काठमाडौं । फिफा विश्वकप-२०२६ तथा एसियन कप छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र युनाइटेड अरब इमिरेट्स(युएई) भिड्दैछन् । दुबईको अल मक्तोउममा हुने खेल नेपाली समय अनुसार राति ९:३० बजे शुरु हुनेछ ।
नेपालले आज घरेलु टोली युएईसँग खेल्दै छनोटको दोस्रो चरणको शुरुवात गर्न लागेको हो । यसअघि गत महिना भएको पहिलो चरणको खेलमा लाओसलाई हराउँदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । तुलात्मक रुपमा बलियो युएईविरुद्ध नेपाल सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
हाल फिफा वरीयतामा युएई ६९ औं र नेपाल १ सय ७३ औं स्थानमा रहेको छ । बुधबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक अल्ब्रेटो एनेसले युएई बलियो टोली भएपनि नेपाल युवा जोशको साथ मैदान उत्रिने बताएका थिए । “यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौँ । हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता छ । त्यसैले यो टोलीमा जोश छ । प्रशिक्षकको रूपमा मेरो टोलीले धेरै बलिया टोलीहरूसँग खेलेको अनुभव छ ।“ एनेसले भने ।
नेपाल विश्वकप छनोटको समूह ‘एच’मा रहेको छ । समूहमा नेपालसँगै युएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने दुई टोली सिधै एसियन कपमा छनोट हुनेछन् भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।