एजेन्सी । भारतका ब्याट्सम्यानद्वय विराट कोहली र श्रेयस आयरको सतकको मद्दतमा भारतले आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत जारी पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित इडेन गार्डेनमा जारी खेलमा भारतले न्युजिल्याण्डलाई ३ सय ९८ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको हो । भारतको लागि विराट कोहलीले विश्व कीर्तिमानी सतक पुरा गर्दा आयरलेपनि विश्वकपमा लगातार दोस्रो सतक पूरा गरे । विराटले एकदिवसीयमा ५० औं सतक पूरा गरेका हुन् । यसअघि भारतकै सचिन तेन्दुलगरको नाममा रहेको ४९ औं सतकको कीर्तिमान भंग गर्दै विराट एकदिवसीयमा सर्वाधिक सतक पूरा गर्ने खेलाडी बनेका हुन् ।
विराटले १ सय १३ बलमा ९ चौका र दुई छक्काको मद्दतमा १ सय १७ रन बनाउँदा श्रेयस आयरले ७० बलमा १ सय ५ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । यस्तै शुभ्मन गिल ८०, कप्तान रोहित शर्माले ४७ र केएल राहुलले ३९ रनको योगदान गरे ।
न्युजिल्याण्डका लागि टिम साउदीले १० ओभरमा १ सय रन दिएर तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए ।