एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप-२०२३ को पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली भारत र न्युजिल्याण्ड भिड्दैछन् । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल दिउँसो २:१५ बजे शुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । जारी विश्वकपमा घरेलु टोली भारत उच्च लयमा रहेको छ । भारतले लिगचरणको सबै खेलमा सतप्रतिशत जित निकालेको थियो । भारत प्रतियोगितामा एक्लो अपराजित टोली हो । सन् २०११ मा तेस्रोपटक विश्वकपको उपाधि जितेको भारत पछिल्लो दुई संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो ।
त्यसैले पछिल्लो दुई संस्करणको नतिजालाई बिर्सेर भारत यसपटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा रहेको छ । भारत आज न्युजिल्याण्डमाथि बदला लिने मनसायमा रहेको छ । सन् २०१९ को विश्वकपमा भारत न्युजिल्याण्डसँग पराजित हुँदै बाहिरिएको थियो । भारतले लिग चरणको खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराएको थियो ।
यता न्युजिल्याण्डपनि आजको खेलमा जित निकाल्ने लक्ष्यमा रहेको छ । यसअघिको दुई संस्करणमा फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्ड यसपटक उपाधि घर लैजाने लक्ष्यमा रहेको छ । प्रतियोगिताको शुरुवाती चार खेल जित्दै शानदार शुरुवात गरेको न्युजिल्याण्डले सोहि लयलाई निरन्तरता दिन नसक्दा त्यपछिको चार खेलमा पराजित भएको थियो । तर लिगचरणको अन्तिम खेलमा जित निकाल्दै न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो ।
भारत र न्युजिल्यान्ड नयाँ प्रतिद्वन्द्वी भने हैनन् । आईसीसीको प्रतियोगितामा भारतको न्युजिल्याण्डसँग नतिजा सुखद छैन । दुई टोलीबीच भएको १९ भेटमा भारतले मजम्मा ५ खेल जित्दा न्युजिल्याण्डले १२ खेल आफ्नो पक्षमा पारेको छ । यस्तै विश्वकपमा भएको १० भेटमा न्युजिल्याण्डले ५ खेल र भारतले एक खेल जितेको छ ।