जेपी गुप्ता ।
नेपाल सरकारले सामाजिक संजाल ‘टिकटक’ लाई नेपालमा प्रसारण हुनबाट रोक्ने निर्णय गरेको समाचार आएको छ । एक समय थियो, म सञ्चारमन्त्री थिएँ । विदेशबाट प्रसारण हुने ‘फेसन टिभी’ च्यानल रोक्न सहकर्मी मन्त्रीहरूबाट समेत निकै ठूलो दबाव आएको थियो। नेपाली समाजमा सदाचारको रक्षाका लागि यो आवश्यक रहेको तर्क दिइएको थियो । अर्को प्रसंगमा चीनको ‘सिसिटिभी’ र पाकिस्तानको ‘पिटिभी’ को प्रसारण नेपालका केबुल टिभीका सेवा प्रदायकबाट हुन नदिन पनि उत्तिकै ठूलो दबाव अनुभव गरेको याद आउँछ ।
‘एपी’ एशोसिएट प्रेसले भारतको कश्मिरमा भारतीय सेनाद्वारा मारिएको विद्रोहीहरूका बारेको समाचारमा ‘किल्ड’ शब्दको प्रयोग गरेको थियो । गोरखापत्रले ‘भारतीय सेनाद्वारा हत्या’ भनी समाचार छापेको थियो । कुरो यहाँसम्म पुग्यो कि नेपालमा रहेका एपीका समाचारदाता विनय गुरूवाचार्यको प्रेस पास खारेज गर्ने र एपीको सब्सक्रिप्सन राष्ट्रिय समाचार समितिले रद्द गर्ने समेत कुरा आयो । कश्मिरको समाचार र नेपालका एक भद्र, अनुभवी एवं सम्मानित पत्रकार विनय गुरूवाचार्यका बीच कुनै सम्बन्ध थिएन र पनि कुरो आयो ।
त्यसबेला भारतकै हितचिन्तकहरूलाई सम्झाँउन कठिन भएको थियो । जवाहरलाल नेहरूले भनेका ‘..सरकारले जान्नुपर्दछ कि स्वतन्त्र समाजमा खुला विचारहरूलाई कहिले पनि क्रूर कानूनद्वारा जाँच्न सकिँदैन । जति धेरै जुलुम गरिन्छ, विचारहरूको फैलावट त्यति नै ठूलो हुन्छ।’ यस कुरोलाई म बताउन पनि सकिरहेको थिइन त्यसबेला ।
मन्त्री, प्रधानमन्त्रीहरूलाई धेरै दबावहरू आउने गर्दछ । कहिले समाजमा सदाचार बचाउने नाममा, कहिले मित्र राष्ट्रहरूसँगको प्रगाढ सम्बन्ध बचाउने नाममा । यसका बावजूद पनि सरकारले विचारहरूको प्रवाहको रक्षा त गर्नै पर्दछ । अहिलेको सरकारले टिकटक किन बन्द गर्ने विचार बनायो होला ? मलाई त ठिक लागेको छैन । कुरो त के हो भने सञ्चारको क्षेत्रमा चाहे जुनसुकै सरकार होस्, वा जुनसुकै शासन व्यवस्थामा नै किन नहोस्– मिडियालाई व्यवस्थित गर्नुपर्ने कर्णप्रिय कुरा जसले गरेपनि बास्तवमा त्यो भनेकै मिडियालाई नियन्त्रण गर्नका लागि सरकारलाई हौस्याएकै ठहर्छ । यद्यपि, मलाई मन नपरेर के भो त ? आज धेरैलाई मन परेकै होला ।