एजेन्सी । घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपमा भारतले लगातार नवौं जित निकालेको हो । आइतबार बेलुकी सम्पन्न खेलमा भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गरेको हो ।
जितको लागि ४ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा अलआउट हुँदै २ सय ५० रनमा अलआउट भएको हो । नेदरल्यान्ड्सको लागि टेजा निडामानुरुले सर्वाधिक ५४ रन बनाउँदा स्यब्रान्ड एन्गेलब्रेच्टले ४५, कोलिन एक्रेमनले ३५, म्याक्स डोवडले ३०, स्कट एडवार्डले १७ तथा लोगान भान बिक र रोएलोफ भान डेर मेर्वेले समान १९-१९ रन बनाए ।
भारतको लागि जस्प्रित बुम्रा, मोहम्मद सिराज, कुलदिप यादव र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिँदा विराट कोहली र रोहित शर्मालेपनि समान एक-एक विकेट लिए ।
यसअघि बैंगलोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ४ सय १० रन बनाएको थियो । भारतको लागि श्रेयस आयर र केएल राहुलले सतक बनाए । आयरले ९४ बलमा १० चौका र ५ छक्काको मद्दतमा १ सय २८ रन बनाउँदा राहुलले ६४ बलमा ११ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ६१ रन बनाउँदा शुभ्मन गिल र विराट कोहलीले समान ५१-५१ रन बनाए ।
नेदरल्यान्ड्सको लागि बास डे लेडीले दुई विकेट लिँदा भान मेकेरन र भान डेर मेर्वेले समान एक-एक विकेट लिए ।
जितसँगै भारत ९ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको नेदरल्यान्ड्स लिगको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।
अब भारतले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डको सामना गर्नेछ ।