युएई टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र अन्तर्गत आज हुने सेमिफाइनल खेलमा युएईले घरेलु टोली नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्र सिंह एरी टोलीमा फर्किएका छन् । अलराउन्डर दीपेन्द्र सिंगापुरविरुद्धको पहिलो खेल खेल्नुअघि अभ्यासको क्रममा घाइते भएका थिए । उनको  एंकलमा चोट लागेको थियो । तर बिहिबार नेटमा अभ्यास गरेका दीपेन्द्र टोलीमा फर्किएका छन् ।

आजको खेलमा दुवै टोलीलाई जितको विकल्प छैन । आजको खेलमा जित निकाल्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको समूहचरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै नेपालले समूह उपविजेतामा चित्त बुझाएको हो । यसअघि नेपालले समूहचरणमा मलेसिया र सिंगापुरलाई हराएको थियो । नेपालले आज पहिलोपटक छनोटको खेल मुलपानीमा खेल्न लागेको हो । यसअघिको सबै खेल नेपालले टियु मैदानमा खेलेको थियो ।

यता युएईले भने छनोटको सबै खेल मुलपानीमा खेलेको छ । त्यसैले यस मैदानमा नेपाल भन्दा युएई बढि अभ्यस्त हुन सक्छ । समूहचरणको सबै खेलमा सतप्रतिशत जित निकालेको युएई आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

आज नेपाल बदला लिने लक्ष्यसाथ मदान उत्रिनेछ । यसअघि सन् २०२२ को छनोटमा युएईसँग सेमिफाइनलमा ६८ रनले पराजीत भएसँगै नेपाल विश्वकप खेल्नबाट वन्चित भएको थियो । यसअघि नेपाल एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईलाईनै पराजित गर्दै पहिलोपटक एसीसी एसिया कपमा छनोट भएको थियो ।

युएईले आफ्नो पछिल्लो ५ खेलमा ४ जीत र एक हारको नतिजा निकाल्दा नेपालले तीन जीत र दुई हारको नतिजा निकालेको छ । युएईले गत हप्ता सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो । दुई टोलीबीच भएको ८ भेटमा नेपालले चार खेल जित्दा चार खेलमा पराजीत भएको छ ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, गुलसन झा, विवेक यादव, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *